रामपुर फाँटकाे सिंचाईमा पानी अझै आएन, कृषककाे धान खेतमै सुक्याे (तस्बिरसहित)

बाेलीखबर   ४ श्रावण २०७९, बुधबार १०:५५

पाल्पा । रामपुर फाँट सिंचाई आयोजनाको नहर अविरल वर्षाद संगै खसेको पहिरोले नहर पुरिए पछि अझै सञ्चालनमा आउन सकेकाे छैन । रामपुर नगरपालिका–३, ओईरेघाटकाे ठाडीमा पहिरो खसेपछि गत असार २५ गते देखि नहर अवरुद्ध भएको थियो ।

नहरको पानीबाट सिंचाई गर्दै आएका कृषकहरुले रोपाई गर्न पाएका छैनन्। राेपाइ गरेका कृषकहरूकाे धान खेतमै सुकीसकेकाे छ ।  रामपुर फाँट सिंचाई आयोजना जलउपभोक्ता समितिका कोषाध्यक्ष मधु पाठकले डोजर लगाएर पहिरो हटाउनुका साथै पहिरो रोक्नका लागि काम भए संगै बुधबार बाट नहर सञ्चालन गर्ने तयारी भएको बताएका छन् ।

मंगलबार मर्मत कार्य सकिए संगै बुधबार विहान पानी छाड्ने तयारी भएको र ढिलोमा विहान १० बजे देखि पानी सञ्चालन हुने रामपुर फाँट सिंचाई जलउपभोक्ता समितिले जनाएको छ ।

रामपुरको कृषिको लागि मुख्य आधारको रुपमा रहेको रामपुर फाँट सिंचाईको नहर बाट रामपुर ३, ४, ५, ६ र ७ नं. वडाको ७ सय ७० हेक्टर जमिन सिंचाई हुँदै आएको छ । नहर सञ्चालन संगै रामपुर क्षेत्रको बाँकी भागमा रोपाई हुनेछ । रामपुर क्षेत्रमा असार अन्तिम र साउनको पहिलो हप्तामा रोपाई हुने गर्दछ ।

नहर भन्दा माथिबाट झण्डै १ सय ५० मिटर लम्बाई र ४८ मिटर चौडाईको पहिरो खसेपछि नहर पुरिएको थियो भने थुनिएर केही भाग पानीले भत्किएको थियो ।