पाल्पामा सुर्य बुलेटिन दाेस्राे अंक प्रकाशन

बन्दना पाेखरेल   २४ मंसिर २०७७, बुधबार १६:४६

पाल्पा – नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टीे यतिबेला गहिरो सङ्कटमा फसेको बताउनुभएको छ । नेकपा पाल्पा प्रचारप्रसार तथा प्रकाशन विभागले प्रकाशन गरेको सूर्य बुलेटिन वितरण समारोहमा बोल्नुहुँदै उहाँले पार्टीभित्र देखिएको मतभेद अन्त्य हुनेमा आफू विस्वस्त रहेको बताउनुभयो ।

अहिले पार्टीभित्र देखिएको समस्या स्थायी कमिटीसम्म आइपुगेको बताउँदै उहाँले स्थायी कमिटीको बैठक समस्या समाधानतर्फ जाने उल्लेख गर्नुभयो । उहाँले पार्टीको अन्तरिम विधानले दुई अध्यक्षको सहमतिबाट नै अगाडि बढ्ने उल्लेख गरेपनि त्यस्तो हुन नसकेको बताउनुभयो । उहाँले पार्टीभित्र अल्पमत/बहुमतबाट अगाडि बढ्ने की नबढ्ने, संसदबाट नेता छान्ने की पार्टीबाट नेता छान्ने विषयमा मुख्य विवाद रहेको बताउनुभयो ।

यसबाहेक पूर्व एमालेले बहुदलीय जनवादको कुरा गर्दा पूर्व माओवादीकालाई मनमा चिसो पस्ने र पूर्व माओवादीले जनयुद्धको कुरा गर्दा पूर्व एमालेकालाई चिसो पस्ने विषयले पनि पार्टीमा फाटो ल्याएको नेता पोखरेलको भनाई छ । उहाँले अहिले पार्टी कमिटीबाट समस्या समाधान नभए महाधिवेशनबाट समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

पार्टीभित्र देखिएको समस्या समाधान गर्न विचारमा एकरुपता कायम गरेर अगाडि बढ्नुपर्नेमा उहाँको भनाई छ । उहाँले माथि नेताहरु नमिल्दैमा कार्यकर्ताहरु विभाजित हुन नहुनेमा जोड दिनुभयो । नेता एकदिन मिल्दैनन्, भोलि मिल्छन् उहाँले भन्नुभयो त्यसैले नेताहरु नमिल्दा धेरै तरङगित हुनुपर्ने अवस्था होइन । उहाँले नेताका बीचमा रहेको असहमति कार्यकर्ता र जनताको बीचमा पुगेको खण्डमा पार्टी एक भइरहन कठिन हुने बताउनुभयो ।कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य ठाकुर गहिरेले नेताहरुले नेकपाले पाएको अवसर सदुपयोग गर्न नसकेको बताउनुभयो । उहाँले पार्टीको नीति र पद्धति अनुसार पार्टीमा देखिएको विवाद समाधान गर्नुपर्नेमा जोड दिनुभयो । जनताले नेकपा प्रति धेरै आशा र भरोसा राखेपनि नेताहरुकै कारणले समस्या देखिएको उहाँको भनाई छ ।कार्यक्रममा जिल्लाअध्यक्ष नारायण आचार्यले पार्टीले अब नियमित रुपमा सूर्य बुलेटिन प्रकाशन गर्ने र पार्टीको प्रचारको कामलाई प्रभावकारी बनाउने बताउनुभयो । कार्यक्रम नेकपा पाल्पा प्रचारप्रसार तथा प्रकाशन विभागका प्रमुख गुराँस आत्रेयको अध्यक्षता र सदस्य कमलराज तिमिल्सिनाको संचालनमा सम्पन्न भएको थियो ।