कांग्रेस सांसदले गरिन् राष्ट्रपति कदमको स्वागत

बाेलीखबर   २ भाद्र २०७९, बिहीबार १५:२४

काठमाण्डाैं । सत्तारुढ नेपाली कांग्रेसकी एक सांसदले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको कदमको स्वागत गरेकी छन् । दलीय निर्देशन मान्नुपर्ने भएकोले सरकारको प्रस्तावमा समर्थन गरे पनि आफ्नो मनले नागरिकता विधेयकलाई स्वीकार नगरेको उनले बताइन् ।

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमाथि बिहीवार प्रतिनिधि सभामा भएको छलफलमा कांग्रेस सांसद पार्वता डीसी चौधरीले राष्ट्रपतिको कमदमको सम्मान गर्नुपर्ने बताएकी हुन् ।

‘राष्ट्रपतिमाथि धेरै टिका टिप्पणी गर्नु उपयुक्त होइन । नागरिकता विधेयक जसरी आएको छ, सत्तापक्षको भएकाले समर्थन गरेकी छु । तर, व्यक्तिगत आत्माले ठीक मानेको छैन । सबै नागरिक आन्दोलित छन् । पाँच महिनापछि नयाँ सदन आउँछ । अहिले ल्याउनुपर्ने के हतारो थियो ?’, उनले प्रश्न गरिन् ।

‘राष्ट्रभन्दा ठूलो मेरो पार्टी होइन म होइन । हामीहरू पार्टीभन्दा माथि उठेर बोल्नुपर्छ राष्ट्रपतिले पठाएको ठीक छ, उहाँको सम्मान गर्नुपर्छ’ उनले भनिन् । कांग्रेस सांसदले राष्ट्रपतिको कदमको समर्थन गर्दा एमाले सांसदहरूले टेबल ठटाएर समर्थन गरेका थिए ।