काजुमासा काकिमी (ओकेबाजे)को ८४ पुजा रामपुरको गंगा मावीमा हुने

बाेलीखबर   १९ भाद्र २०७९, आईतवार ११:२१

पाल्पा । जापानिज नागरिक काजुमासा काकिमी (ओकेवाजे) को ८४ औ‌ बर्ष  पुगेकाे अवसरमा ८४ पुजा हुने भएकाे छ ।  

विगत ३० बर्ष देखी पाल्पामा शिक्षा, स्वाश्थ्य लगायतका क्षेत्रमा सहयोग गर्दै आउनु अाएका ओकेबाजे ८४ बर्ष पुगेको अवसरमा गंगा मावि रामपुरमा हुने भएकाे हाे । पुजाको तयारीका लागि यस क्षेत्रका माध्यामिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, पत्रकार वीच भेला भएको छ । भेलाले आउदो असोज २३ गते अर्थात अक्टोबर ९ तारिखका दिन पुजा गर्ने निर्णय गरेको छ ।

भेलामा गंगा माध्यामिक विद्यालयका प्रधानाध्यापक देवराज देवकोटाले विगत लामो समयदेखी शिक्षा क्षेत्रमा योगदान गर्ने ओकेवाजेको सम्मानकै लागि गंगा मावीमा ८४ पुजा गरिदिन मन लागेको बताएका थिए। उनले जीवनको लामो समय नै आफ्नो देश जापान छोडेर नेपालमा रही पाल्पा क्षेत्रमा उनकै पहलमा धेरै विकास भएको बताए । 

 भेलाले गंगा मावीका प्रधानाध्यापक देवराज देवकोटा अध्यक्ष तथा रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, तानसेन तथा माथागढी गाउँपािलकाका माध्यामिक विद्यालयका प्रधानाध्यापक, वडाअध्यक्ष ,पत्रकार तथा संचारसंस्था सदस्य रहेको मुल आयोजक समिती गठन गरेको छ । भेलाले चौरासी पुजा संचालनका लागि सवै विद्यालय, तथा स्थानिय संघसंस्थाबाट सहभागिता बापत न्युनतम ५ हजार रुपैंया का दरले सहयोग संकलन गर्ने, प्राप्त रकम पुजा अवधिभर नजिकको बैकमा खाता खोलेर एकद्धार प्रणालीमार्फत आर्थिक कारोबार गर्ने, पुजाको प्रचार प्रसार गर्ने लगायतका निर्णय गरेको छ ।

भेलाले प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितीका संयोजक, तानसेन नगरपालिका, रामपुर नगरपालिका, सवै गाउँपालिकाका प्रमुख, लुम्बिनी प्रदेशसभा सदस्य रहेको सल्लाहकार समिती चयन गरेको छ । भेलामा नेपाल संस्कृत विश्वविद्यालयका सहायक प्रध्यापक डाक्टर खेमराज खनालले धार्मिक विधिबाट गरिने चौरासी पुजाबारे जानकारी गराएकाे थियो ।

करिब ६ लाख लागतमा सम्पन्न हुने पुजाका निम्ति सचिवालय स्थापना गरी व्यवस्थापनको काम शुरु गरिने आयोजकले जनाएको छ । भेलामा गंगा माध्यामिक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नरनारायण अर्यालले विद्यालयमा गरिने जापानिज समाजसेवी ओकेबाजेको सम्मानका निम्ति गरिने पुजालाई व्यवश्थित बनाउन सवैको सहयोग अपरिहार्य रहेको बताए । भेलाले पुजा सम्पन्न गर्न ४५ सदस्यीय मुल आयोजक समिती तथा २४ सदस्यीय सचिवालय समिति निर्माण गरेको छ ।