रामपुर–६ मा परम्परागत पञ्चेबाजा सहित दशैं बाटो सफाई

बाेलीखबर   १३ आश्विन २०७९, बिहीबार ११:५३

पाल्पा । रामपुर नगरपालिका ६ मा आउदै गरेका चाड दशै तिहारको अबसर पारेर सरसफाइ गरिएको छ ।
दशैंको आगमनसंगै बाटो खन्ने तथा बाटो वरपरको झाडी हटाउने प्रचलन हराउँदै गएको सन्दर्भमा रामपुर नगरपालिका ६ तालपोखरा टोल विकास संस्थाले बुधबार पञ्चेबाजा सहित बाटो सफाई गरेका हुन् ।

दशैं आए संगै पञ्चेबाजा सहित टीका थाप्न गाउँमा आउने चारै तर्फको बाटो सफा गर्नु हाम्रो पूर्खा देखिको मौलिक प्रचलन हो ।
मानिसहरु हँसिया, कोदालो सहितको टोली बाटो वरपरको झाडी हटाउँदै थिए । उनीहरुको पछि तालपोखरा नौमती बाजा समुह पञ्चेबाजा बजाउँदै अघि बढी रहेका थिए केही वर्ष यता हराउँदै गएको त्यही प्रचलन वर्तमान समाजमा पनि लागि अपरिहार्य रहेको भन्दै रामपुरमा पुन थालनी गर्ने प्रयास भएको छ ।

सडक विस्तार संगै गोरेटो, प्रयोग कम हुनु तथा सडकको स–साना खाल्डा पुर्नको लागि सरकारी निकाय कै मुख ताक्ने प्रवृतिले मौलिक प्रचलन अधिकांश स्थानमा लोप भै सकेको छ । रामपुर नगरपालिका नगर कार्यपालिकाको आग्रहमा टोल विकास संस्था मार्फत गोरेटो तथा सडकको झाडी सफाई, सामान्य मर्मतको कार्यले निरन्तरता पाएको हो ।

रामपुर ६ को तालपोखरा टोल विकास संस्थाले विगतको दशैंको झल्को दिने गरी वरपरका सडक, बाटो एवं सार्वजनिक स्थलको पञ्चेबाजा बजाएर सफाई गरेका छन् । तालपोखरा टोल विकास संस्थाका अध्यक्ष थिरलाल ढकालले दशैंको अवसरमा नै अधिकांश बाटो मर्मत गर्ने र सरसफाई गर्ने अवसर भए पनि पछिल्लो समय बजेट मुखी हुँदा गाउँठाउँको सरसफाई पनि ओझेलमा परेको बताए । उनले ‘विगतमा ९/१० दिन सम्म बाजा बजाएर दशैं बाटो सफा गरिन्थ्यो । तर विकास बजेटमुखी हुँदा हाम्रा सडकहरु ओझेलमा परेकाले सबैलाई उत्साहित भएर लाग्नका लागि पञ्चे बाजा सहित दशैं बाटो सफाई सुरु गरेका हौं ।’ पुरानो शैलीको अभाव अहिले पनि खड्कीएकाले त्यसको महत्व दर्शाउन बाजा बजाएर बाटो सफाई गरिएको बताए ।

रामपुर नगरपालिका ६ का वडाअध्यक्ष दिवाकर देवकोटाले नगर भित्रका अन्य वडाहरुमा जस्तै वडा नं। ६ का ११ वटै वडामा एकै पटक शुभारम्भ गरिएको बताएका छन् । नागरिकलाई आफ्नो कर्तव्य प्रति दायित्वबोध गराउन अभियान सञ्चालन गरिएको र यस कार्यमा सबैको उत्तिकै उत्साह पाईएको बताएका थिए।

रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले मौलिक परम्पराको बारेमा जानकारी दिई विकासमा स्थानीयहरुलाई सहभागी गराउन अभियान सञ्चालन गरिएमा धन्यवाद दिएका थिए ।