निस्दीकाे झिरुवासमा दुई युवा मृत फेला

बाेलीखबर   २० आश्विन २०७९, बिहीबार १४:५७

पाल्पा । निस्दी गाउँपालिका–३, झिरुवास भलुवाका दुई युवा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

निस्दी गाउँपालिका-३ झिरुबासका २१ वर्षीय वीरेन सोमै र सोही ठाउँका २१ वर्षीय इन्द्रबहादुर खरु बुधवार मृत फेला परेका जिल्ला प्रहरी कार्यालय रामपुरले जनाएकाे छ । उनीहरूको छुट्टाछुट्टै ठाउँमा शव फेला परेको हो ।

वीरेनको सोही गाउँपालिका-४ मित्याल र इन्द्रबहादुरको वडा-५ गल्धाकाे ढुंगानाबेंसी नजिकै पाकरी खोलामा शव फेला परेको थियो ।

उनीहरू दुवै जना १७ गते सोमबार फूलपातिका दिन साँझ रमाइलो हेर्न भनी मित्याल मौलाथरमा सङ्गै मोटरसाइकलमा गएको बुझिएको छ। दसैँका दिन अबेरसम्म घरमा नफर्किएपछि उनीहरूको खोजी गरिएको थियो।

शरीरका अंगहरु नभएको क्षत विक्षत अवस्थामा रहेको शव पहिचान हुन सकेको थिएन । तर पछि हातमा रहेको ट्याटुको आधारमा इन्द्रकै लास भएको स्थानीयले पहिचान गरेका थिए ।

प्रहरीले घटनाको सम्बन्धमा विस्तृत अनुसन्धानपछि मात्र सत्यतथ्य आउने जनाएको छ । घटनाको विषयमा अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ ।

स्थानीयका अनुसार शरीरका अंगहरूसमेत छरपस्ट अवस्थामा भेटिनु, लास फरक फरक स्थानमा फेला पर्नु र उनीहरु चढेको मोटरसाईकल फेला नपर्नुले हत्या भएको हुन सक्ने आशंका स्थानीयले गरेका छन् । उनीहरुले घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान गर्न प्रहरीसँग माग गरेका छन् । दुवैको शव रामपुर अस्पतालमा लगिएको छ ।