आधारभुत माविकाे ९ कोठे भवनको शिलन्यास

बन्दना पाेखरेल   २९ मंसिर २०७७, सोमबार १७:२३

राष्ट्रिय पुनः निर्माण प्राधिकरण कार्यालयका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बिधिवत् रुपमा शिलन्यास गर्नुभएको हाे ।

रामपुर नगरपालिका वडा नं ७ मा रहेको आधारभुत माविमा बन्न लागेको नौ कोठे पक्की भवनको आज शिलन्यास गरिएको छ । राष्ट्रिय भुकम्प पुनः निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन ईकाई (शिक्षा) को सहयोगमा निर्माण हुन लागेको भवन शिलन्यास कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज भट्टराईको अध्यक्षतामा भएको हो । नयाँ बन्ने भवनको राष्ट्रिय पुनः निर्माण प्राधिकरण कार्यालयका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बिधिवत् रुपमा शिलन्यास गर्नुभएको छ । उहाँले २०७२ सालको भुकम्पले क्षति पुगेका संरचना निर्माण कार्य तीव्र गतिमा भइरहेको बताउँदै हालसम्म ९२ प्रतिशत पुनः निर्माण कार्य सम्पन्न भएको बताउनुभएको छ । पाल्पा जिल्लाको ईतिहासमा अहिले छोटो समयमा एकै पटक विभिन्न भौतिक संरचना निर्माणको काम भइरहेको बताउँदै उहाँले अब निजि आवासका घरहरुलाई सम्पन्न गर्ने दिशामा जानुपर्ने बताउनुभयो । पुनः निर्माण प्राधिकरणले यस आर्थिक वर्षमा काम सम्पन्न गरेर अर्को आर्थिक वर्षको पुष महिनामा हस्तान्तरण गर्ने योजनाका साथ पुनः निर्माणको काम तीव्र गतिमा अगाडी बढाएको बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले रामपुर अबको ५० वर्ष पछि ठुलो शहरको रुपमा विकास हुने र त्यसको लागि योजनाबद्ध विकासका काम गर्नुपर्ने बताउनुभएको छ ।

रामपुरको विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारले एकिकृत योजना बनाएर अगाडी बढ्न उहाँको अनुरोध छ । लुम्बिनी प्रदेश सभा सदस्य युवराज खनालले विद्यालय खुल्ने क्रम र पठनपाठन हुने कुरा ठुलो नभई शैक्षिक गुणस्तर बृद्धि हुनु आजको आवश्यकता रहेको बताउनुभएको छ । उहाँले शैक्षिक गुणस्तर बृद्धि गर्नु, व्यवहारिक शिक्षा अति आवश्यक रहेको बताउँदै यस आधारभुत माविमा अझैपनि पूर्वाधार सम्पन्न भइनसकेको अवस्था रहेको हुदा पुराना भवनलाई सुधार गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले नगरभित्र भुकम्पबाट प्रभावित भएका विभिन्न विद्यालयमा पुनः निर्माणको काम भइरहेको बताउँदै केही सम्पन्न भएको र केही सम्पन्न गर्न बाँकी रहेको जानकारी दिनुभएको छ ।

 

शिक्षा एउटा चेतना, विचार र विकासको मेरुदण्ड रहेकाले भौतिक संरचना आवश्यक रहेको र संरचना निर्माणमा विभिन्न निकायबाट ठुला ठुला भवनहरु प्राप्त भएको बताउँदै नगर प्रमुख थापाले हिजो स्याउला र खरले छाएको विद्यालय आज पक्की भवनमा संचालन भइरहेका छन्, अब भौतिक संरचना तयार भएपछि शैक्षिक गुणस्तर बृद्धिमा जोड दिनुपर्ने बताउनुभयो । साउदी फण्ट फर डेप्लभमेन्ट प्रोजेक्टद्धारा दुई करोड नौ लाख २३ हजार नौ सय छ रुपैयाँको लागत सहयोगमा निर्माण कार्य सुरु भएको भवन २०७८ साल माघ १९ गते भित्रमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ । विद्यालयका प्रधानाध्यापक रुपनाथ गौतमको स्वागतबाट सुरु भएको कार्यक्रममा निर्माण व्यवसायी व्यवस्थापकी निर्देशक लक्ष्मीप्रसाद ज्ञवाली, नेकपा रामपुर नगर कमिटि ईन्चार्ज राजुप्रसाद श्रेष्ठ, नेपाली कांग्रेस नगर सभापति नेत्रप्रसाद भट्टराई, रामपुर नगरपालिका वडा नं ७ का अध्यक्ष तीर्थप्रसाद पंगेनी लगायतले बोल्दै तोकिएको समयभित्रमा भवन निर्माण कार्य सम्पन्न गर्न अनुरोध गर्नुभएको छ । कार्यक्रमको संचालन शिक्षक ध्रुब शर्माले गर्नुभएको हो ।