रातारात बुटवलबाट दाङ सारियो लुम्बिनीको मुख्यमन्त्री कार्यालय

बाेलीखबर   २० मंसिर २०७९, मंगलवार १२:३१

पाल्पा। स्थायी पूर्वाधारविना मन्त्रालयहरू दाङ नसार्न चौतर्फी दबाब भइरहेको बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका फर्निचरलगायत सामान रातारात दाङ लगिएको छ ।

मुख्यमन्त्री कार्यालय र निजी सचिवालयका सामानहरु स्थायी राजधानी देउखुरीको कार्यालयमा ल्याइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले जानकारी दिए । मंगलबार बिहानैदेखि  देउखुरीको कार्यालय ब्यवस्थापनको काम भइरहेको उनले बताए ।

उनले केही दिन अघिदेखि नै मुख्यमन्त्री कुलबहादुर केसी देउखुरीमै बसेर काम गरिरहेको बताए । ‘प्रदेशसभाको निर्णयलाई कार्यान्वयन गर्नका लागि मुख्यमन्त्रीज्यू लागिपर्नु भएको छ,’ उनले भने, ‘हिजो बुटवलबाट समानहरु ल्याइएको छ । अब मुख्यमन्त्रीले यहीँबाट काम गर्नुहुनेछ ।’

दाङमा क्रियाशील पत्रकार पाण्डव शर्माका अनुसार सोमबार राति साढे १० बजेतिर मुख्यमन्त्री कार्यालय र सचिवालयका फर्निचर लगायतका सामान बोकेर मुख्यमन्त्रीसहितको टोली बुटवलबाट स्थायी राजधानी देउखुरीका लागि हिंडेको थियो । यससँगै बुटवलस्थित मुख्यमन्त्रीको अस्थायी मुकाम बन्द गरिएको छ ।

राति बुटवलबाट सामान लिएर हिँडेको ट्रक आज बिहान दाङ देउखुरी आइपुगेको थियो । ती सामान प्रहरीहरुको सहयोगमा व्यवस्थापन गरिएको छ ।

मंसिरभित्रै सबै मन्त्रालय देउखुरीमा स्थानान्तरण गरिसक्ने प्रदेश सरकारको तयारी छ । अब आन्तरिक मामिला मन्त्रालय, अर्थ मन्त्रालय र कोष तथा लेखा नियन्त्रण कार्यालय एकसाताभित्रै बुटवलबाट देउखुरी ल्याइनेछ । पर्यटन ग्रामीण तथा सहरी विकास र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय भने यसअघि नै स्थानान्तरण भइसकेका छन् ।