प्रेस चौतारीको २५ औं स्थापना दिवस तथा शाखा साधारणसभा रानीमहल दरवारमा सम्पन्न

बाेलीखबर   २३ माघ २०७९, सोमबार १९:३४

पाल्पा । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवस तथा शाखा साधारणसभा सम्पन्न भएको छ । साधारण सभा रानीमहल दरवार परिसरमा सम्पन्न भएको हाे ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित र व्यवसायिक बनाउनुपर्ने बताउनुभयो । उहाँले नेपाली राजनीतिक सामाजिक आन्दोलनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँनुहुँदै अव राजनीतिक आन्दोलनको समय लगभग सकिएको र विकास र समृद्धिको समय भएकोले पत्रकारिता क्षेत्र पनि सोही लक्ष्यतर्फ उन्मुख हुनुपर्ने बताउनुभयो ।

सांसद आचार्यले रानीमहल सहित पाल्पामा धेरै ऐतिहासिक तथा धार्मिक स्थलहरु, महत्वपूर्ण लेकहरु पनि रहेकोले ती क्षेत्रहरुको उचित प्रचारप्रसार गर्दै पर्यटन प्रवर्धनका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

नेकपा एमाले पाल्पाका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले पत्रकारिताको माध्यमबाट प्रेस चौतारीले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । अध्यक्ष घिमिरेले पत्रकारिता क्षेत्रले समयसापेक्ष प्रविधि र आम पाठक स्रोताको आवश्यकता अनुसार विषय वस्तुहरुलाई उठान गर्नुपर्ने बताउनुभयो ।

प्रेस चौतारी नेपालका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज प्रदीप आचार्यले जनभावनाका सवाललाई उठान गर्दै ब्यवसायिक पत्रकारिता बनाउने योजना अनुरुप प्रेस चौतारी लागिपरेको बताउनुभयो । उहाँले प्रगतिशील पत्रकारहरूको साझा संस्थाको प्रेस चौतारीको आफ्नै महत्वपूर्ण इतिहास रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठ, खेम बहादुर सारु, इन्दिरा गहतराजले पत्रकारिता क्षेत्रको विकासका लागि आफूहरुले पनि प्रदेशसभा मार्फत गर्न सक्ने पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले स्थानीय सरकारले गरेका राम्रा कामहरुको उचित प्रचारप्रसार गर्ने र भएका कमिकमजोरीहरुलाई औल्याइदिनेमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले स्थानीय सरकार र सञ्चारमाध्यम सहकार्यको आवश्यकता रहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख काशिका गैरे, रिब्दीकोट गाउँपालिकाका पूर्व अध्यक्ष नारायण बहादुर जिसी, नेकपा माओवादी केन्द्र पाल्पाका सचिव मथुरा ढकाल, राष्टिय स्वतन्त्र पार्टीका सचिव सुमन गैरे, नेकपा एकीकृत समाजवादीका अध्यक्ष कमल पाण्डे, राष्टिय जनमोर्चा पाल्पाका अध्यक्ष बिशाल दर्लामी, राष्टिय युवा संघका केन्द्रीय सचिव तुल बहादुर अधिकारी, हुलाक कार्यालय पाल्पाका प्रमुख जयदीप पन्थी, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, प्रेस युनियनका सभापति भरत शर्मा, उद्योग बाणिज्य संघका सचिव बिदुर घिमिरे, पाल्पा व्यापार संघका उपाध्यक्ष विष्णु बहादुर कार्की, निजमति कर्मचारी संगठनका युवराज ज्ञवाली, प्रेस चौतारी पाल्पाका संस्थापक अध्यक्ष केशव नेपालले पत्रकारिता क्षेत्रको समयसापेक्ष विकास हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पाल्पाबाट निर्वाचित सांसदहरुलाई सम्मान गरिएको थियो । शाखा उपाध्यक्ष बन्दना पोखरेलको स्वागत, सचिव नारायण न्यौपानेको संचालन र अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।
औपचारिक कार्यक्रमको समापनपछि भएको बन्दसभाले सचिव नारायण न्यौपानेले प्रस्तुत गर्नुभएको सांगठिनक प्रतिवेदन र कोषाध्यक्ष नेत्र गैरेले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पास गरेको छ । कार्यक्रममा रानीमहल घोषणा पत्र समेत जारी गरिएको छ ।