
काठमाडौं । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पर्सा प्रहरीको समन्वयमा वीरगन्जबाट पक्राउ गरेको हो ।
उनीविरुद्ध नवलपरासीमा उखु किसानको उजुरी छ । उनलाई थप अनुसन्धानका लागि नवलपरासी पठाइएको प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए ।
यो मिलले किसानको १५ करोड रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी रहेको बताइएको छ । सरकारले किसानको पैसा नदिने मिल सञ्चालकलाई पक्राउ गरेर कारबाही अगाडि बढाउन निर्देशन दिएको थियो ।
स्राेतः अनलाइनखबर