
पाल्पा । सिद्धबाबामा निर्माणधीन सुरूङ मार्गको ‘टनेल पोर्टल’ पहिरोले पुरिएको छ । गएरातिदेखि परेको अविरल वर्षासँगै झरेको पहिरोले सिद्धबाबा मन्दिर नजिकैको टनेल पुरिएको हो ।
आयोजनाका इन्जिनियर युधिरिष्ट पन्थीका अनुसार बुटवलतर्फको साइडमा निर्माण थालिएको टर्नेलमा पहिलो ठूलो क्षति पुगेको छ । ‘अहिले पनि पानी परिरहेको छ’ पन्थीले भने, ‘आकार लिएको सुरुङमाथि पहिरो झर्यो ।’
सुरूङमार्गमा अहिले दैनिक ८० जना कामदारले काम गर्दै आएका छन् । बाह्रै महिना पहिरो झरेर अकालमै यात्रुको मृत्यु हुने क्रम बढेसँगै पाल्पाको तिनाउ गाउँपालिका–३ मा सुरूङमार्ग निर्माण थालिएको थियो । स्थानीय तोया लम्सालले पहिरोले सुरूङको टर्नेल पुरै पुरिदिएको जानकारी दिए ।
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिरोले बर्सेनि ठूलो दुर्घटना हुने गरेको छ । वर्षौंदेखि समस्या भएपछि अन्य कार्यभन्दा उत्तम ठानेर सरकारले सुरूङमार्गको निर्माण अघि बढाएको हो ।
यो परियोजनाको लागत १० अर्ब रूपैयाँ अनुमान गरिएको छ ।