
पाल्पा । पाल्पाको रामपुरमा रोपाई जात्रा निकालिएको छ । गाईजात्राको भोलिपल्ट निकालिने रोपाई जात्रा रामपुरमा शनिबार प्रदर्शन गरिएको हो ।
नेवाः समाज रामपुरले सदियौं देखि चल्दै आएको जात्राको निरन्तरता अन्तर्गत जात्रा निकालिएको हो । रोपाई जात्रा बेझाँड चोकमा ल्याएर दिनभर प्रदर्शन गरिएको थियो । जात्रामा दुई किशोर जुवामा नारिएर बेझाँड चोकमा निस्किएका थिए । खोक सहित जुवामा नारिएका किशोरलाई अर्का किशोरले खेड्दै थिए । बाउसेको भेषमा केही खेतका गह्रा मिलाउँदै थिए त केही विउ बोकेर अघि बढ्दै थिए । जात्रामा किशोर, किशोरीहरुको सहभागीता रहेको थियो । गोलो आकार बनाएर उनीहरुले धानको वीउको रुपमा सिरुको प्रयोग गरी पञ्चे बाजाको धुनमा धान रोपेको अभिनय गरेका थिए । उनीहरुलाई समुदायका पाका पुस्ताले सहयोग गरेका थिए । नेवाः समाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठले गाईजात्राको भोलिपल्ट निकालिने जात्रालाई अनवरत रुपमा निरन्तरता दिदै आएको बताए ।
रामपुरमा नेवार समुदायले पूर्खाहरु देखि नै आफ्नो संस्कृति अनुसार गाईजात्रा, रोपाई जात्रा र लाखे नाच प्रदर्शन गर्दै आएको छ । युवाहरुको रोपाई जात्रामा बढी सहभागीता रहे पनि पछिल्ला पुस्ताहरुमा पनि हस्तान्तरण गर्नु पर्छ भन्ने मान्यताका साथ भर्खरका किशोरहरुलाई पनि सहभागी गराईएको नेवाः समाज रामपुरका सचिव विमल श्रेष्ठले जानकारी दिए।
किशोरहरुलाई मात्र महिला भेषमा रोपाई जात्रामा प्रस्तुत गर्दै आए पनि पछिल्लो समय किशोरीहरुलाई पनि समावेश गर्दै आएको छ । जात्रा अवलोकनका लागि सयौंको संख्यामा उल्लेख्य सहभागीता रहेको थियो ।