न्यायाधीश माग गर्नेलाई नबनाउँदा मेराविरूद्ध लागे: चोलेन्द्रशमशेर

बाेलीखबर   १५ भाद्र २०७९, बुधबार १६:३९

काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश जबरा र सांसदहरुबीच सवाल जवाफ भइरहेको छ । सांसदहरुले गरेको प्रश्नको जबराले जवाफ दिइरहेका छन् ।

निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि महाभियोग लाग्नुमा स्वार्थ्य समूहको गठजोड भएको बताएका छन्।

बुधबार प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिमा बयान दिने क्रममा उनले महाभियोग  प्रस्ताव आउनुका पछाडि विभिन्न व्यक्तिको स्वार्थ जोडिएको टिप्पणी गरेका हुन्।

‘तत्कालीन नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायाधीश माग्नुभएको थियो। महासचिव लीलामणि पौडेलले चेम्बरमै आएर मुख्य न्यायाधीश माग्नु भएको थियो,’ राणाले भने, ‘त्यस्तै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको पनि मुद्दामा स्वार्थ्य थियो। तर म मानिनँ। विधि र शासनको पालना गर्छु भनें। त्यही भएर उहाँहरू मेराविरूद्ध लाग्नुभएको हो।’

११ सदस्यीय महाभियोग सिफारिस समितिमा राणाले आफूमाथि लागेको महाभियोगबारे सफाइ दिइरहेका छन्। जवाफ दिने क्रममा उनले सांसदहरूलाई समेत प्रतिप्रश्न गरिरहेका छन्।

समितिमा रहेका नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले राणाले सीमा बाहिर गएर कतिपय जवाफ दिइराखेको बताएका छन्।

‘उहाँले महाभियोग किन ढिला भयो भन्ने सम्मको जिज्ञासा राख्नु भएको छ,’ विश्वकर्माले भने, ‘उहाँले कतिपय प्रश्नमा सीमा बाहिर गएर जवाफ दिइराख्नु भएको छ।’

सांसदहरूले  पनि राणाले उठाएका विषयमा प्रतिप्रश्न गरिरहेका छन्।