गठबन्धनमा सीट बाँडफाँटमै सकस – कांग्रेस ८५, अन्य दल ८० सीटमा होला सहमति ?

बाेलीखबर   १७ भाद्र २०७९, शुक्रबार १४:०४

काठमण्डाैं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सत्तारूढ गठबन्धनबीच सीट बाँडफाँटका लागि बिहीवार रातिसम्म बसेको गठबन्धनका शीर्ष नेताहरूसहितको कार्यदल बैठक पनि विनानिष्कर्ष टुंगिएको छ ।

आगामी मंसिर ४ गते हुने चुनावमा सत्तारूढ गठबन्धनभित्र रहेका दलहरूले सीट बाँडफाँटका लागि कार्यदल बनाएर काम गरिरहेका छन् । गठबन्धनको कार्यदलमा कांग्रेसबाट ३, माओवादी केन्द्रबाट २, नेकपा एकीकृत समाजवादीबाट २, जनता समाजवादी पार्टीबाट २ र राष्ट्रिय जनमोर्चाबाट २ जना सदस्य छन् । कांग्रेस नेता तथा पूर्व महामन्त्री कृष्णप्रसाद सीटौलालाई संयोजकको जिम्मेवारी तोकिएको छ ।

सत्तारूढ गठबन्धनले चुनावी तालमेल गर्ने निर्णय त गरेका छन् तर, सीट बाँडफाँटमा ठूलै रस्साकस्सी चलिरहेको छ ।

बिहीवारको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुल १६५ मा ५० प्रतिशत सीट कांग्रेसले राखेर बाँकी अरूलाई दिनुपर्ने प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने कांग्रेसले ७० सीट राखेर बाँकी अरूलाई दिनुपर्ने प्रस्ताव गरेका छन् ।

कांग्रेसका नेताहरू भने न्यूनतम ९० सीट आफूहरूलाई चाहिने अडानमा छन् । उनीहरूले यसअघि १०० सीटमा दाबी गर्दै आएका थिए । अहिले उनीहरू केही लचक भएर ९० सीटको अडानमा ओर्लिएका छन् ।