कांग्रेस नेता विजयराज घिमिरेको निधन

बाेलीखबर   ३१ भाद्र २०७९, शुक्रबार १०:२०

पाल्पा । नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिका पूर्वसदस्य एवं पाल्पाका कांग्रेस नेता विजयराज घिमिरेको निधन भएको छ । लामो समय देखि आन्द्राको क्यान्सर बाट पिडित घिमिरेको उपचारको क्रममा मेडिसिटी अस्पताल काठमाडौमा उपचारको क्रममा निधन भएको हो ।

कांग्रेस पाल्पाका नेता तथा कार्यकर्ता, एवं सामाजिक अभियन्ताहरु उनको अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौ पुगेका छन् । घिमिरेको पार्थिव शरीरलाई शुक्रबार दिउँसो १ बजे अन्तिम श्रद्धाञ्जली पश्चात पशुपति आर्यघाटमा अन्त्यष्टी गरिने पारिवारिक स्रोतले जनाएकाे छ। बुवाको अन्त्यष्टी आर्यघाट मै गरिएकाले उहाँको पनि सोही स्थानमा दाहसंस्कार गर्न लागिएको हो । घिमिरेको श्रीमती सहित दुई छोरा र १ छोरी छन् ।

घिमिरे २०५६ र २०७४ को आमनिर्वाचनमा पाल्पा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा पार्टीको तर्फबाट उम्मेदवार थिए । २०२५ सालमा पाल्पाको रामपुरमा जन्मिएका घिमिरेले विद्यार्थी जीवन देखि नै राजनैतिक संघर्ष गरेका थिए । पञ्चायती शासकहरु विरुद्ध निडर भएर लागेका घिमिरेलाई २०४६ साल फागुन ७ गते बाट सुरु भएको जनआन्दोलनको क्रम प्रहरीले मुख्य निशाना बनाएको थियो । प्रजातन्त्र पुर्न बहालीको लागि उनले नेतृत्वदायी भुमिका गरेका थिए । फागुन ७ कै दिन रामपुर बेझाँड बजार बाट जुलुस निकाल्ने क्रममा प्रहरीले गोली चलाउँदा उनको सहोदर दाजु सूर्य घिमिरेको निधन भएको थियो ।   घिमिरेले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

उनको निधनबाट पार्टीले एक होनाहार युवा नेतृत्वलाई गुमाएको नेपाली कांग्रेस पाल्पाले जनाएको छ ।