
पाल्पा । निस्दी गाउँपालिका – ४ , मित्यालको, लामेदमारमा पैसा बुझाएको १५ वर्षपछि बिजुली बलेकोछ । लामेदमार ट्रान्समिटर अन्तर्गत सोमबार त्यहाँको ५५ घरमा बत्ती बलेको हो ।
बिजुली बल्न भनेर यहाँका स्थानीय बासिन्दाले आजभन्दा करिब १५ वर्ष अगाडि पैसा बुझाएको थियोे । अब त बत्ती बलेको देख्ने आश मरिसकेको थिएँ , तर अहिले सपना झै लागेको स्थानीय लिल बहादुर आलेले भने । लामो समयको पर्खाइमा बत्ती बल्न पाएपछि धेरै ठूलो राहत महशुस गर्नुका साथै स्थानीयहरु खुशी भएको जीवन ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक चित्र सिंह आलेले बताए ।
लामेदमार ट्रान्समिटर अन्तर्गत यहाँको लामेदमार, बेलखरक, गोठडाँडा, खोर्मोक, रिपाहा, पोखरादहर, थोक्सिबास गाउँका करिब १ सय घरमा बत्ती बल्नुपर्नेमा केही टोलमा वयरिङको काम नसकेकोले एकै चरणमा बत्ती बल्न नपाएको कार्यपालिका सदस्य हेम कुमारी सुनारीले बताएकी छिन् । सामुदायिक विधुतिकरण लामेदमार ट्रान्समिटरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बत्ती बल्न सहयोग पुर्याउनु हुने सबैलाई धन्यवाद दिएका छन् । सारुले निस्दीमा विद्युतको काम कछुवाको गतिमा भएको स्वीकार्दै सबैको सहयोग र सहकार्यको निरन्तर खाँचो रहने बताए ।
निस्दीमा सामुदायिक विद्युतीकरणको काम ढिलो भएकोमा यहाँका युवाहरूले सामाजिक सञ्जाल मार्फत व्यापक खबरदारी गरेको देखिन्छ । तर निस्दीका जनताहरु भने अझैसम्म टुकीकै सहारामा कष्टकर जीवन बिताउन बाध्य छन । यहाँको ५ वटा वडामा विद्युत बल्ने जिम्मा लालीगुँरास सामुदायिक विद्युतीकरण सहकारी संस्था गल्धाले लिएको छ । निस्दीको कतिपय ठाउँमा आजभन्दा ४ वर्ष अगाडि बत्ती बलिसकेको छ । भने कति ठाउँमा लाइन त धेरै परको कुरा रह्यो खम्बा समेत पुर्याउन सकेको छैन ।
निस्दीको ७ वटा वडा मध्ये १ र २ मा सामुदायिक विद्युतीकरणले नसमेटिएको र बाँकी ५ वटा वडामा यसको काम भइरहेको सहकारी संस्थाका अध्यक्ष दुर्गा बहादुर सोमईले बताएका छन् ।