पाल्पामा ६१ प्रतिशत मत खस्यो, मत गणनाको लागि सर्वदलिय बैठक बस्दै

बाेलीखबर   ५ मंसिर २०७९, सोमबार १२:१६

पाल्पा।  प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पाल्पामा झण्डै ६१ प्रतिशत मत खसेको छ । दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको पाल्पामा कुल मतको ६० दशमलव ९४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

२ लाख १ हजार ३ सय २६ मतदाता रहेको पाल्पामा १ लाख २२ हजार ६ सय ९४ मत खसेको जिल्ला निर्वाचन कार्यालय पाल्पाका मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले  जानकारी दिए । विष्टका अनुसार प्रतिनिधि सभा क्षेत्र नं. १ मा ५८ हजार ४९१ र प्रतिनिधि सभा क्षेत्र नं. २ मा ६४ हजार २ सय ३ मत खसेको थियो । क्षेत्र नं. १ मा मतदाता ९६ हजार ३३ र क्षेत्र नं. २ मा १ लाख ५ हजार २९३ मतदाता रहेका थिए । प्रतिशतको आधारमा जिल्लामा क्षेत्र गत रुपमा १ मा ६० दशमलव ९१ र २ मा ६० दशमलव ९१ देखिन्छ ।

जिल्लाको १ सय १८ मतदान स्थलका २ सय ४६ मतदान केन्द्रको मतपेटिका संकलन आज विहान साढे ४ बजे सकिएको थियो । मतपेटिका संकलन संगै क्षेत्र नं. २ को तानसेनमा मतगणनाको लागि सर्वदलिय बैठक बस्दैछ । क्षेत्र नं. १ मा पनि केही समय पछि सर्वदलिय बैठक बस्दैछ । बैठक पश्चात मतगणना सुरु हुनेछ । क्षेत्र नं. १ को नापी कार्यालय रामपुरको भवनमा र क्षेत्र नं. २ को तानसेन बालमन्दिर सभाहलमा मतगणना हुनेछ ।

पाल्पा प्रतिनिधि सभामा २ र प्रदेश सभामा ४ सिटका लागि ४५ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । जसमा क्षेत्र नं. १ मा १० जना, क्षेत्र नं. १ प्रदेश १ मा ५ र २ मा ५ जना, प्रतिनिधि सभा क्षेत्र नं. २ मा प्रतिनिधि सभा तर्फ १३ जना, प्रदेश १ मा ७ र २ मा ५ जना उम्मेद्वार रहेकाछन् ।