रामपुरमा ‘तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला’ हुने

बाेलीखबर   २३ पुष २०७९, शनिबार ०८:४७

पाल्पा । रामपुर उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला हुने भएको छ ।

मेलाबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा स्थानीय कृषि उत्पादन, पर्यटन र संघको भवन निर्माणका लागि सहयोगार्थ आउदो माघ २७ गते देखि फागुन ८ गते सम्म महोत्सव हुने जनाएको छ ।

पछिल्लो समय महोत्सव हुने वा नहुने विषयमा चर्चा भईरहेको अबस्थामा उद्योग वाणिज्य संघले महोत्सवको मिति घोषणा गर्दै गरेको पत्रकार सम्मेलनमा बोल्दै रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले रामपुरको चिनारी कायम गरेको रामपुर महोत्सवलाई थप प्रर्बद्धन र स्थानीय उत्पादन, व्यापारी व्यवसायीको चहलपहल सँगै संघको भवन निर्माणको लागि स्रोत जुटाउने उद्देश्य लिएर महोत्सव गर्न लागेको जानकारी दिनुभयो । उहाँले रामपुर नगरपालिकाले २ बर्ष अघि नदी महोत्सवको तयारी गर्दै गर्दा कोभिडको कारणले स्थगित भयो । नियमित महोत्सव गर्न कोभिड संक्रमणको बिषम परिस्थितिले मिलेन अहिले देशभर आर्थिक मन्दीका कारण अर्थतन्त्र धरासायी छ अब चलायमान गराउन पनि महोत्सव गर्न लागिएको हो ढकालले भन्नुभयो ।

रामपुर नगरपालिका सहित विभिन्न संघसस्थाको समन्वयमा हुने महोत्सवले पर्यटन प्रर्वद्धनमा जोड दिदै यस क्षेत्रका ऐतिहासिक, धार्मिक पर्यटकीय स्थलहरुमा आन्तरिक तथा बाह््रय पर्यटक भित्र्याउने, झाँकीद्धारा स्थानीय कलासंस्कृति चिनाउने, कृषि, कुटिर जन्य उत्पादन र कोशेलीको रुपमा उत्पादन बस्तु प्रर्बद्धन साथै बजारीकरण गर्दै उत्पादनमा निरन्तरता र स्वरोजगार बढाउन सघाउने जनाएको छ ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक ढकालले महोत्सवमा स्थानीय कृषि उत्पादन, कुटिर उद्योग तथा सिपकलाबाट निर्मित वस्तुका स्टल राख्न स्थानीय उद्योगी व्यवसायीलाई प्राथमिकता दिने बताउदै स्थानीय व्यापारी व्यवसायीले स्टल राखेर सहयोग गर्न अनुरोध गर्नुभयो ।

रामतुलसी माविको खेल मैदान रामपुरमा ११ दिनसम्म चल्ने महोत्सवको व्यवस्थापनका लागि १ सय ५१ सदस्यीय मेला मुल आयोजक समिति, २८ सदस्यीय सचिवालय कार्यसम्पादन समिति र २७ सदस्यीय सल्लाहाकार समिति गठन गरेको जनाएको छ । महोत्सवमा कृषि प्रर्दशनी, कालीगण्डकी नदीमा र्‍याफ्टिङ, प्याराग्लाईडिङ, हेलिकप्टरबाट दृश्यावलोकन, स्थानीय संस्कृति झल्कने झाँकी, स्थानीय कुटिर उद्योगबाट उत्पादित सामाग्री, बालउद्यान, तेस्रो रामपुर डान्स आईडल लगायतको आकर्षण रहनेछ ।

सोही अबसरमा नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष सृजना घिमिरेले महोत्सव सफलताको शुभकामना दिदै स्थानीय मिडिया र पत्रकारसँगको सहकार्यले प्रचारप्रसार र मेला सफलतामा ठुलो भुमिका हुने बताउनुभयो । स्थानीय उत्पादन, कृषि र पर्यटनका नारा देशभरका मेला महोत्सवमा ल्याईने तर स्थानीय भन्दा अन्य व्यापार व्यवसाय स्टलमा देखिने परम्परा भन्दा स्थानीय उत्पादन, बुनाई, कला सहित स्थानीयपन झल्कने सँगै स्थानीय व्यापार व्यवसायले स्टल भरिनुपर्नेमा जोड दिनुभयो । सोही अबसरमा सबल न्युजका सम्पादक सीता डोटेल, राससका प्रतिनिधि शुशिला रेग्मी, पृश्वी टेलिभिजनका स्टेशन प्रमुख कृष्ण पौडेल, एभिन्युजका प्रतिनिधि इमानसिं राना, बोली खबरका सम्पादक बन्दना पोखरेल, रेडियो रामपुरका रमा भण्डारी, कटुवाल खबरका सम्पादक दुर्गेश मल्ल, रेडियो पाल्पाका दानु हिस्की मगरले मेला सफल पार्न सुझाब दिएका थिए ।

संघका वरिष्ठ उपाध्यक्ष रुद्र नारायण श्रेष्ठले स्वागत गर्दै संघको मुख्य आयोजनामा यस अघि २ वटा महोत्सव सम्पन्न भइसकेको र यस क्षेत्रको विकास र प्रर्बद्धनको लागि महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । यसको लागि वातावरण तयार, छलफल समन्वय जारी रहेको छ उहाँले भन्नुभयो–व्यापार व्यवसायलाई चौपट बनाएको बिजुली बत्तीको अनियमित रोक्नका लागि संघले विद्युत्त केन्द्रमा डेलिगेशन गई सहजताको लागि पहल गर्ने बताउनुभयो ।
संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा संघका वाणिज्य उपाध्यक्ष विष्णु बहादुर सारुले धन्यवाद दिनुभएको थियो भने सञ्चालन पुर्व प्रेस संयोजक बासुदेव ढकालले गर्नुभएको हो ।

२०७२ सालमा स्थापना भएको रामपुर उद्योग वाणिज्य संघले २०७३ साल पौष २७ देखि माघ ८ सम्म पहिलो र २०७५ साल फागुन १५देखि २५ गतेसम्म दोस्रो रामपुर महोत्सव गरिसकेको छ । रामपुर नगरपालिका स्थापना पश्चात् पाल्पा उद्योग वाणिज्य संघमा आबद्ध रामपुर क्षेत्रका व्यापारी व्यवसायीको सक्रियतामा रामपुर नगर स्तरीय उद्योग वाणिज्य संघ स्थापना भएको हो । हाल उद्योग वाणिज्य संघ रामपुरमा ७ सय ११ सदस्य आबद्ध छन् । संघले पुर्वी पाल्पाको व्यापार व्यवसायमा दर्तादेखि नविकरण र करसँगै व्यवसायसम्बन्धी प्रशिक्षण एंव पर्यटन, कृषि सहित स्थानीय स्तरमा बिभिन्न काम गर्दै आएको छ ।