आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

बाेलीखबर   १ माघ २०७९, आईतवार ११:१४

पाल्पा । आज माघे संक्रान्ति पर्व मनाइँदैछ । खासगरी मगर र थारु समुदायले विशेष रुपमा  मनाउने यो पर्व अहिले सबैतिर फैलिएको छ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर अर्थात माघे सङ्क्रान्ति भन्ने गरिन्छ । थारु समुदायले भने माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् ।

बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने विश्वास गरिन्छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ ।

थारु,मगर र छन्त्याल समुदायले भने नयाँ वर्षका रूपमा पर्व मनाउने गर्छन्  । मगर समुदायले माघेसंक्रान्ति र थारु समुदायले माघी पर्वको रुपमा मनाउँदैछ । यस्तै थारु समुदायमा माघी महोत्सवको रौनक छाएको छ । थारु समुदायले आजको दिनलाई नयाँ बर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन् । आजदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गरिएको छ । आज बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने थारु समुदायको परम्परा छ ।

तराईमा आजको दिनलाई ‘तिला सकराइत’ भनिन्छ । ।माघे संक्रान्तिलाई पश्चिम तराईका दाङ, बाँके, बर्दिया, लाली लगायतका जिल्लामा माघीको रुपमा मनाइदैछ ।बिगतका बर्षमा पनि लुम्बिनीले माघीको अबसरमा माघे सक्रान्तिको भोलिपल्ट समेत बिदा दिदै आएको छ ।प्रदेशको निर्णयसँगै लुम्बिनीमा माघ १ र २ गते सार्वजनिक बिदा भएको छ ।