रामपुरमा स्थानीय तह र प्रदेश सरकार विच अन्तरक्रिया सम्पन्न

बाेलीखबर   ९ माघ २०७९, सोमबार १६:३१

पाल्पा । स्थानिय तह र प्रदेश सरकार विचको अन्तर सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रम रामपुर नगरपालिकामा आईतबार सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेशको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । प्रदेश सरकारले विनियोजन गरेका बजेट मार्फत संचालन भएका योजनाको अवस्था , संचालनको क्रममा भएका जतिलटा , समन्वय लगाएत प्रदेश सरकार र स्थानिय तह विचको सम्बन्धलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश मुख्य मन्त्रि कार्यालयका प्रमुख सचिव डाक्टर दिपक काफ्लेले तिनै तहको सरकारले काम गर्ने भुगोल एउटै भएकोले तिनै तहविच समन्वय , सहअस्तित्व र सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।

विकास र समृद्धिका लागि सवै तह मिलेर अगाडी बढ्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो । संघ र प्रदेशबाट योजना संचालन गर्दा स्थानिय तह संग समन्वय नगर्दा योजना दोहोरिने समस्या रहेको भन्दै त्यसलाई न्यूनिकरणका लागि समन्वय आवश्यक रहेको बताउनुभयो । साथै उहाँले आगामी दिनमा प्रदेशले योजना छनौट गर्दा हरेक स्थानिय तह संग समन्वय गरेर मात्रै गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेश सरकारले जनशक्ति व्यवस्थापनको ऐन बनाईसकेको र जारी गर्न मात्रै बाँकी रहेको बताउँदै प्रमुख सचिव काफ्लेले रामपुर अस्पतालमा डाक्टर र कर्मचारीको व्यवस्थापनका लागि तत्काल पहल थाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगर भित्र प्रदेश सरकार मार्फत संचालनमा रहेका योजनाको बारेमा जानकारी गराँउदै  टुक्रे योजना पनि प्रदेश सरकारबाट आँउदा समस्या भएको बताउनुभयो । स्थानिय तह संग समन्वय नगरी बजेट विनियोजन गर्दा अति आवश्यक रहेको ठाँउमा पनि बजेट विनियोजन नहुने भएकोले स्थानिय तहको सिफरिसका आधारमा बजेट विनियोजन गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो- “स्थानिय तहले थाहै नपाई योजना संचालन हुन्छ, आवश्यक ठाँउमा पर्याप्त बजेट विनियोजन हुँदैन त्यसैले स्थानिय तह संग समन्व्य गर्न आवश्यक छ ।” नगर प्रमुख थापाले प्रदेश सरकार मातहतमा सञ्चालनमा रहेको रामपुर अस्पतालको सेवालाई प्रभावकारी बनाउन ध्यान दिन समेत आग्रह गर्नुभयो । अस्पतालमा प्रयोग हुने आवश्यक सामग्रीको व्यवस्थापन  र डाक्टरको व्यवस्था तत्काल गर्न अनुरोध समेत गर्नुभयो । साथै प्रदेश सरकारको बजेट मार्फत सञ्चालन हुने गरी डिपिआर तयार पारिएको  खालिवन रामपुर सडक निर्माण कार्य   तत्काल  गर्नु पर्ने बताउनु भएकाे छ ।  थापाले लुम्बिनी  प्रदेश राजधानीको पहुँच र दुरीका हिसाबले यो क्षेत्र दुर्गममा रहेको भन्दै यसको विकासका लागि योजना छनौटमा प्राथमिकता दिन आग्रह गर्नुभयो  ।  प्रदेश सरकार र स्थानिय सरकार विचको आपसी सहकार्य र समन्वयले नगरको विकासमा  बढावा मिल्ने बताउनुभयो ।

यस्तै मुख्यमन्त्रि तथा मन्त्रि परिषद्को कार्यालयका सचिव राम प्रसाद पाण्डेले स्थानिय तह संगको समन्वयमा आगामी दिनमा प्रदेश सरकारले योजना छनौट र संचालन गरिने बताउनुभयो ।  रामपुर नगरपालिकाको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा रामपुर नगरपालिकाका वडा अध्यक्षहरु , कार्यपालिका सदस्य , विषयगत शाखाका प्रमुखहरुले प्रदेश सरकार मार्फत आउने विभिन्न शिर्षकका बजेटका योजना संचालनका क्रममा भएका समस्या बारे जिज्ञासा राखेका थिए ।

लुम्बिनी प्रदेश मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राम प्रसाद पाण्डेको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रम प्रदेशका प्रमुख सचिव डाक्टर दिपक काफ्लेको प्रमुख आतिथ्यता र सचिव यमकान्त पाण्डेको संचालनमा सम्पन्न भएको हो ।