
पाल्पा । निस्दी गाउँपालिका पाल्पामा पालिका स्तरीय बाल भेला तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । पालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको भेलाको बिहीबार लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको हो ।
भेलाको उद्घाटन गर्नुहुँदै प्रदेश संसद श्रेष्ठले बालबालिकाहरुको अधिकार संरक्षणमा अभिभावकहरुको भूमिका महत्त्वपूर्ण रहने भएकोले बालमैत्री वातावरणको सिर्जना घरपरिवारबाट शुरु गर्नुपर्ने बताए । उहाँले राज्यका तीनै तहको सरकारबाट उपयुक्त योजना तथा कार्यक्रम मार्फत बालबालिकालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए । एक फरक प्रसंगमा संसद श्रेष्ठले निस्दीमा पछिल्लो समय विकासको कामले गति लिएको भन्नुहुँदै अझ बिकास र परिवर्तनको लागि आफु सधैं प्रतिबद्ध रहने बताए ।
कार्यक्रममा रम्भा गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले रम्भामा यस अघि बालमैत्री कार्यक्रम सञ्चालनको अनुभव बताउनुहुँदै रम्भामा यस्तो कार्यक्रम सफल तथा प्रभावकारी रहेको बताए । अध्यक्षको असनबाट बोल्नुहुँदै गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले हाल निस्दीमा बाल विवाह मुख्य समस्या र चुनौतीको विषय रहेको बताए । अध्यक्ष सारुले यसको अन्त्यका लागि पालिकाले प्राथमिकताका साथ योजना तथा कार्यक्रमहरु ल्याउने बताउनुहुँदै सम्पुर्ण सरोकारवालाको साथ र सहयोग रहनेमा आफु विश्वासत रहेको बताए ।
भेलामा निस्दी गाउँपालिकाका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयाल, गाउँपालिका प्रवक्ता एवं ६ नम्बर वडा अर्चलेका वडा अध्यक्ष मेख बहादुर सुनारी, स्वास्थ्य शाखा प्रमुख रेम बहादुर दिशा, शिक्षा शाखा प्रमुख नरबहादुर थापा, गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक केश बहादुर सुनारी लगायतले बोल्नुहुँदै बालबालिकाहरुले अधिकारको आवाज उठाउदै गर्दा आफ्नो कर्तव्य भुल्न नहुने बताएका थिए । भेलामा विभिन्न राजनैतिक दल, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय, पत्रकार तथा ७ वटै वडाका बालबालिकाहरुको उपस्थिति रहेको थियो । भेलाको सञ्चालन बाल कल्याण अधिकृत कुश्माखर पाण्डेले गरेको हो ।
यसैबीच शुक्रबार बसेको बन्दसत्रले जेनिसा सोतीको अध्यक्षतामा ११ सदस्यीय बाल मञ्च गठन गरेको छ । जसको उपाध्यक्षमा निलम ढकाल, सचिवमा नबिन बयम्बु, सहसचिवमा मनिषा जर्घा र कोषाध्यक्षमा निरुता फाल रहेका छन । नवगठित बाल मञ्चको सदस्यहरुमा हिमेश मश्राङ्गी, शान्ति राई, विष्णु नेपाली, रोशन नेपाली, नबिन्द्र सुनारी र निशा सारु रहेका छन ।स्मरण रहोस निस्दीलाई आगामी ३ वर्षभित्र वालमैत्री स्थानीय शासन लागु भएको पालिका घोषणा गर्ने तयारी गरेको छ ।