
पाल्पा । माथागढी गाउँपालिका पाल्पा मगर एकता दिवसकाे अवसरमा फागुन १५ गते सार्वजनिक बिदा दिएकाेछ ।
गाँउपालिकाले सूचना जारी गर्दै ४१ औं मगर एकता दिवसको अवसरमा फागुन १५ गते माथागढी मातहतका सबै वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरू, विद्यालयहरू लगायतका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे ।
४१औं मगर एकता दिवसकाे अवसरमा माथागढी गाउँपालिका वडा नं. ३ सराईमा मगर एकता दिवस तथा सांस्कृतिक महोत्सव हुने भएको छ । फागुन १५ गते हुने ४१ औं मगर एकता दिवसमा स्थानीय कला संस्कृतिको जर्गेना, मगरी खाना, मगरी भेषभूषा आदिको प्रदर्शन हुने नेपाल मगर संघ माथागढीले जनाएको छ ।
बुधबार तानसेनमा पत्रकार सम्मेलन गर्दै नेपाल मगर संघ माथागढीका अध्यक्ष शंकर दर्लामीले मेलाले स्थानीय उत्पादनको बजारी करण, स्थानीय व्यवसायहीलाई प्रोत्साहन गर्दै मगरी संस्कृति र परम्पराको सम्बर्धनमा सहयाेग पुग्ने बताएका थिए ।
यस्तै वडा नं. ३ का वडा अध्यक्ष तथा नेपाल मगर संघ पाल्पाका अध्यक्ष तेज घर्तीमगरले मगरी समुदायभित्र रहेका केही सांस्कृतिक विकृतिलाई हटाउँदै मौलिकताको जर्गेना र संस्कृतिक संरक्षण गर्न मेलाको आयोजना गरिएको बताएका छन् । उनले १५ गते हुने कार्यक्रमले घाेषणापत्र तयार गरेर मगर समुदायकाे उत्थानकाे लागि कार्यक्रम तथा ठाेस याेजना अघि सार्ने बताएका थिए ।
मगर भाषाकाे इतिहास, धर्म र संस्कृतिको लागि संघले विगतका वर्षहरु देखि नै यस्तो कार्यक्रम गर्दै आइरहेको कार्यक्रम संयोजक मानबहादुर रानाले बताए । रानाका अनुसार दिवसमा माथागढीका सबै वडा सहित जिल्लाभरिबाट मगर समुदाय र अन्य समुदायकाे समेत सहभागिता रहनेछ ।
कार्यक्रममा पत्रकारहरुले मगरी संस्कृतिको जगर्ने र मगरी परम्परा र संस्कार संरक्षण तथा कुरीति र अन्धविश्वास निराकरणको सम्बन्धमा आफ्ना राय व्यक्त गरेका थिए । भाषा, धर्म र संस्कृतिको संरक्षणमा मगर एकता दिवसले सहयोग गर्नुपर्ने उनीहरुको सुझाव थियो ।
मेलामा मगरी सस्कृतिसँग सम्बन्धित मारुनी घाटु नाँच स्थानीय परिकार र स्टलहरु समेत रहनेछन् ।
यता फागुन १५ गते, तानसेन नगरपालिका, रामपुर नगरपािलकाले स्थानीय बिदाकाे घाेषणा गरिसकेका छन् ।