
पाल्पा । ४१ औं राष्ट्रिय मगर एकता दिवस आज देशभर भब्यताका साथ मनाइदैछ । नेपाल मगर संघले फागुन १५ गते सार्वजनिक बिदा र प्रथम सहिद लखन थापामगलाइ रााष्ट्रिय विभूति घाेषणा गर्न माग गरेकाे हाे । ४१ औं राष्ट्रिय मगर एकता दिवसमा आज पाल्पा जिल्लाका सबै स्थानीय तहले सार्वजनिक विदा दिइएकाेछ ।
२०३९ साल फागुन १५ गते तनहुँकाे दमाैलीमा मगर संघ स्थापना भएकाे दिनकाे सम्मानमा संघले सार्वजनिक बिदा माग गर्दे आएकाे हाे ।
४१औं मगर एकता दिवसकाे अवसरमा माथागढी गाउँपालिका वडा नं. ३ सराईमा मगर एकता दिवस तथा सांस्कृतिक महोत्सव हुने भएको छ । फागुन १५ गते हुने ४१ औं मगर एकता दिवसमा स्थानीय कला संस्कृतिको जर्गेना, मगरी खाना, मगरी भेषभूषा आदिको प्रदर्शन हुने नेपाल मगर संघ माथागढीले जनाएको छ ।
वडा नं. ३ का वडा अध्यक्ष तथा नेपाल मगर संघ पाल्पाका अध्यक्ष तेज घर्तीमगरले मगरी समुदायभित्र रहेका केही सांस्कृतिक विकृतिलाई हटाउँदै मौलिकताको जर्गेना र संस्कृतिक संरक्षण गर्न मेलाको आयोजना गरिएको बताएका छन् । उनले १५ गते हुने कार्यक्रमले घाेषणापत्र तयार गरेर मगर समुदायकाे उत्थानकाे लागि कार्यक्रम तथा ठाेस याेजना अघि सार्ने बताएका थिए ।
यता पाल्पाकाे रामपुरमा एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाको आयोजनामा ४१ औँ राष्ट्रिय मगर एकता दिवस विविध सांस्कृतिक कार्यक्रमका साथ मनाउन लागेको हो । विगतको वर्षहरुमा जस्तै यस वर्ष पनि फागुन १५ गते रामपुर नगरपालिकाको मुख्य बजार बेझाँडमा भव्यताका साथ दिवस बनाउने तयारी भएको एकिकृत मगर उत्थान समाजका अध्यक्ष क्याप्टेन देव बहादुर थापा मश्राङ्गीले जानकारी दिएका छन्
उनले मगर संस्कृतिमा आधारित कला, भाषा, भेषभूषाको संरक्षण एवं सम्बद्र्धन गर्ने उद्देश्यका दिवस विशेष कार्यक्रमलाई निरन्तरता दिदै आएको बताएका छन्।
कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न ७ वटा विभिन्न उपसमिति गठन गरेको छ । कार्यक्रममा मगर समुदायमा प्रचलित झ्याउरे, सालैजो, कृष्ण चरित्र ठुलो नाच, ठाडो भाका, यानीमाया लगाएतका विभिन्न झाँकीको प्रस्तुति रहनेछ । कार्यक्रमको पूर्व सन्ध्यामा मौलिक पोसाक सहित झाँकी र नौमती पञ्चे बाजा सहित सद्भाव र्याली निस्कनेछ ।
कार्यक्रमको अवसरमा विभिन्न मगरी खानाका परिकार विक्री तथा प्रर्दशनीमा रहनेछ । रामपुर ५ बेझाँड बजार, रामपुर युवा क्लवको मञ्च भवनमा हुने कार्यक्रममा ज्येष्ठ नागरिक एवं विद्यार्थी सम्मान सहित ख्यातिप्राप्त कलाकारहरु सालैजो तथा ठाडो भाका गायक प्रसाद खप्तरी मगर, लोकदोहोरी गायिका निरा थापा मगर र निलिमा थापा मगरको पनि प्रस्तुति रहनेछ ।
दिवसको पुर्वसन्ध्यामा आइतबार युवाहरुले मोटरसाइकल र्याली निकालेका थिए ।