रामपुरमा ४१ औँ राष्ट्रिय मगर एकता दिवस झाँकी प्रदर्शन सहित भब्यताका साथ सम्पन्न (तस्वीर सहित)

बाेलीखबर   १६ फाल्गुन २०७९, मंगलवार १२:३०

पाल्पा । एकिकृत मगर उत्थान समाज रामपुर पाल्पा र नेपाल मगर संघ रामपुर पाल्पाको संयुक्त आयोजनामा ४१ औँ राष्ट्रिय मगर एकता दिवस पाल्पाको रामपुरमा सोमबार भब्यताका साथ सम्पन्न भएकाे छ ।

मगर एकता दिवस संगै एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाको १५ औँ बार्षिक उत्सव विविध मगर संस्कृतिमा आधारित झाँकी प्रदर्शन सहित विविध कार्यक्रमका साथ मनाइएको हो ।

एकिकृत मगर उत्थान समाजका अध्यक्ष क्याप्टेन देव बहादुर थापा मश्राङ्गीको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेशका सभा सदस्य खेम बहादुर सारु मगरको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको उट्घाटन गर्दै प्रमुख अतिथी सारुले मगर सभ्यता संगै मुलुकको विकासलाई अघि बढाउनु पर्ने बताउनुभयो । इतिहासमा मगर समुदाय धैरै अघि रहेपछि विचमा थिचोमिचोमा परे पनि अहिले अघि बढिरहेको उल्लेख गर्नुभयो । समुदायलाई अघि बढाउन संस्कृतिको संरक्षण गर्दै आफुलाई परिस्कृत गरेर अघि बढ्न चूनौती रहेको बताउनुभयो । “हामीले जुन हिसाबले ईतिहास कायम गर्दै अघि बढेका थियौं त्यसलाई कायम राख्न सोचमा परिवर्तन गरेर संस्कार र संस्कृति भित्रका विकृति निरुत्साहित गर्दै संस्कृतिको संरक्षण गर्दै परिस्कृत भएर अघि बढ्न टड्कारो आवश्यकता छ ।” उहाँले भन्नुभयो । मगर संस्कृति आफैमा धनी रहेको भन्दै समग्र जागजातिहरु संग सहकार्य गरेर अघि बढ्नु आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो । विगतको तुलनामा मगरहरु धेरै अघि बढेको भन्दै उत्प्रेरणाका लागि काम गर्दै अघि बढ्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा, चापाकोट नगरपालिका उपप्रमुख इशा राना, रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानले मगर समुदाय गौरवशाली ईतिहास र संस्कृतिले धनी समुदाय रहेको बताउनुभयो । नेपाल मगर संघका केन्द्रिय सदस्य क्याप्टेन धन बहादुर रानाले विगतका इतिहासलाई विर्सिन नहुनेमा जोड दिनुभयो ।

कार्यक्रममा कांग्रेस आदिबासी जनजाति विभागका केन्द्रीय सदस्य बोम बहादुर थापा, नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई, नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष विष्णु प्रसाद रेग्मी, नेकपा माओवादी केन्द्र रामपुरका अध्यक्ष यम बहादुर सुनार, मुस्लिम संघ नेपाल पाल्पाका उपाध्यक्ष मोहम्मद अजिम शेख, नेवाः समाज रामपुरका सचिव विमल श्रेष्ठ, एकिकृत मगर उत्थान समाज रामपुरका पूर्व अध्यक्ष क्याप्टेन रोमन बहादुर राना, रामपुर नगरपालिकाका नगर प्रवक्ता कपिल बहादुर खाँण, नेपाल मगर संघ रामपुरका निवर्तमान अध्यक्ष थर्क बहादुर राना र दलित वर्ग उत्थान समाज रामपुरका पूर्व अध्यक्ष अर्जुन सुनारले बोल्दै अबको समय भनेको आर्थिक, सामाजिक रुपान्तरण रहेको बताएका थिए ।

दिवसमा पञ्चे बाजा सहित मगर संस्कृतिमा आधारित झाँकी, मौलिक भेषभुषामा सजिएका समाजका १७ वटा समुहको भेष भुषामा सहभागि हजारौंको उपस्थितिमा बेझाँड बजार परिक्रमा गरिएको थियो । कार्यक्रममा १७ समुह मध्ये क्रियाशिल मगर समूह रामपुर ७ किसानबारी पुरस्कृत भएको छ । समारोहमा मगर संस्कृतिमा आधारित मौलिक सोरठी, झ्याउरे, सालैजो र कौरा प्रस्तुत गरिएको थियो । साथै साथै विभिन्न समुहले मगरी खानाका परिकार तरुल, बटुक, सेलरोटी पनि प्रदर्शनी सहित विक्री गरेका थिए

वार्षिक उत्सवको अवसरमा समूह भित्रका जेष्ठ नागरिक रामपुर नगरपालिका ४ का लिला बहादुर बराल, भिमकुमारी रानालाई सम्मान गरिएको थियो । कार्यक्रममा मारुनी तथा सालैजो भाका गायक प्रसाद खप्तरी मगर, लोकदोहोरी गायिका निरा थापा मगर र नेपाल आईडलका गोल्डेन माईक विजेता निलिमा थापा मगरको सांगितिक प्रस्तुति रहेको थियो ।

नेपाल मगर संघ रामपुरका अध्यक्ष राम बहादुर हिस्की थापाको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन समुहका सहअध्यक्ष नरेन्द्र कुमार जर्घा, सहसचिव कमल राना र कल्पना सोमैले गर्नु भएको थियो ।