पाल्पा दरबार क्षेत्रकाे ५७ घरटहरा हटाइने

बाेलीखबर   १ चैत्र २०७९, बुधबार १५:२२

पाल्पा । पाल्पा दरबार परिसरको सौन्दर्यकरण गर्न त्यस क्षेत्रमा रहेका अव्यवस्थित घरटहरा हटाइने भएको छ । पाल्पा दरबार संग्राहलय क्षेत्रलाई व्यवस्थित र सुन्दर बनाइ पर्यटकीय स्थलको रूपमा विकास गर्न त्यस क्षेत्रमा रहेका अव्यवस्थित घरटहरा हटाइने भएको हो ।

तानसेन नगरपालिकाले पुरातत्व विभागको निर्देशन, स्थानीय सरोकारवाला पक्षको सुझावका आधारमा दरबार परिसरमा रहेका ५७ वटा घरटहरा हटाउने निर्णय गरेको हो ।

ऐतिहासिक नगरी तानसेनको मूलढोका, पाल्पा दरबार, भगवती स्थान तानसेनको ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक धरोहर हुन् । यी क्षेत्रको संरक्षण गर्दै तानसेनलाई प्रमुख पर्यटकीय नगरी बनाउन पुराना अव्यवस्थित घरटहरा हटाउने तयारी गरिएको नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले जानकारी दिनुभयो ।

तत्कालका लागि यहाँका घरटहरा हटाउँदा नराम्रो देखिएपनि भविष्यमा नगरको विकासका लागि घरटहरा हटाउने निर्णय सुखद हुने नगरपालिकाको विस्वास छ । यसअघि पनि पटक(पटक मख्खनटोल क्षेत्रको अव्यवस्थित घरटहरा हटाउने बहस भएको थियो ।

तानसेन नगरपालिकावडा नं। ४ मातानसेन नगरपालिकाको आफ्नै नाममा रहेको १३ वटा घरटहरा सहित, घरेलु शिल्पकलाको १३, रेडक्रसको ३, कर्मचारी मिलन केन्द्रको ३, बालसंगठनको १ तथा २००२ देखी २०२२ सम्म राणाहरुले अर्को व्यवस्थापन भएसम्मको लागि भन्दै दिएका २४ घरटहरा हटाउन लागिएको हो ।

नगर कार्यपालिकाको बैठकले नगरपालिकासँग सटर वहाल सम्बन्धी गरिएको सम्झौता रद्द गर्ने, अन्य संघसंस्थावा सरकारी निकायहरुलाई सटरमा रहेका वहालवालाहरुलाई हटाउन पत्राचार गर्ने समेत निर्णय गरेको छ । विश्व सम्पदा सूचीमा तानसेनमा रहेको पाल्पा दरबार सङ्ग्राहलयलाई राख्ने योजनासहित बजेट विनियोजन तथा विकासको योजना अगाडि सारिएको हो ।

केही व्यक्तिले भने घरटहरा हटाउँदा तानसेन बजारलाई असर गर्ने बताएका छन् । सुरूमा पाल्पा दरबार क्षेत्रलाई संग्राहलय बनाउने क्रममा पनि व्यापक बिरोध भएको थियो । हाल पाल्पा दरबार संग्राहलयका रूपमा संचालित छ । यसले जिल्लाको पर्यटन क्षेत्रलाई माथि उठाउन सहयोग पुगेको छ । सडकका घरटहरा हटाउँदा सडक फराकिलो हुने अपेक्षा गरिएको छ भने बजारको चहलपहललाई बढाउन र पर्यटकको आवागमन बढाउन थप सहयोग पुग्ने स्थानीय बासिन्दाको विस्वास छ ।