रामपुर साहित्यिक प्रतिष्ठानको ‘रामकुञ्जिका’ लोकार्पण तथा रचना वाचन कार्यक्रम सम्पन्न

  ३० जेष्ठ २०८१, बुधबार १०:१२

पाल्पा, रामपुर साहित्यिक प्रतिष्ठान रामपुर पाल्पाले ‘रामकुञ्जिका’ पुस्तकको लोकार्पण संगै रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । प्रतिष्ठानले वार्षिक उत्सवको अवसरमा प्रकाशन गरेको ‘रामकुञ्जिका’   लोकार्पण संगै साहित्यकारहरुको उपस्थितिमा रचना वाचन कार्यक्रम गरेको हो ।

रामपुर साहित्यिक प्रतिष्ठानका अध्यक्ष मित्रलाल गौतमको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको थियो । पुस्तक लोकार्पण गर्दै प्रमुख अतिथी थापाले समाजको आवाज बुलन्द गर्न सहित्य महत्वपूर्ण विद्या रहेको बताउनुभयो । साहित्यका विद्याहरु फरक फरक भएपनि समाजलाई जागरुक बनाउन विशेष योगदान दिएको बताउनुभयो । उहाँले साहित्यकारहरुलाई विकास र समाज रुपान्तरणमा कलम चलाउन आग्रह गर्दै नगरपालिकाले साहित्यको विकास र प्रवद्र्धनमा आवश्यक सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा अखिल नेपाल प्रगतिशिल लेखक संघका केन्द्रिय सदस्य रामप्रसाद गैरे, विश्व नेपाली साहित्य प्रतिष्ठान लुम्बिनीका अध्यक्ष भावना खनाल, विश्व नेपाली साहित्य प्रतिष्ठान पाल्पाका अध्यक्ष रमा पन्त, धवल पुस्तकालय तानसेन पाल्पाका अध्यक्ष युवराज पौडेल, प्रगतिशिल लेखक संघ पाल्पाका अध्यक्ष रामप्रसाद अर्याल, रामपुर साहित्यिक प्रतिष्ठानका संस्थापक अध्यक्ष बासुदेव ढकाल, पाल्पा सहित्यक समाजका अध्यक्ष पुष्कर रेग्मी, नुवाकोट साहित्य संगमका अध्यक्ष इन्दिरा रेग्मी, पोखराका साहित्यकार शिव त्रिपाठी, विश्व नेपाली साहित्य प्रतिष्ठान पाल्पाका सचिव आयाम कार्की, नोबेल साकोस साहित्य संस्थाका संस्थापक राजेन्द्र प्रसाद न्यौपाने लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

पुस्तक माथि साहित्यकार डा. टंक पन्थ र लक्षिमा ज्ञावलीले  समिक्षा गर्नु भएको थियो । पुस्तक माथि समिक्षा गर्दै डा. पन्थले ‘रामकुञ्जिका’ पुस्तकको साईजमा भए पनि साहित्य पत्रिकाको रुपमा रहेको बताउनुभयो । उहाँले पुस्तक सम्पादनको क्रममा केही भाषगत समस्या भए पनि यसले कालीगण्डकीको महिमा संगै समाज, देश र प्रेमका सबै पक्षलाई समेटेको बताउनुभयो । रामपुर साहित्यिक प्रतिष्ठान रामपुर पाल्पाका अध्यक्ष मित्रलाल गौतमले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा प्रतिष्ठानले विशिष्ट आजिवन सदस्य र आजिवन सदस्यहरुलाई सम्मान गरेको थियो। पुस्तकमा पाल्पा संगै गण्डकी बेशी क्षेत्रका साहित्यकारहरुको एक सय ४८ वटा लेख रचना समावेश गरिएको छ । पुस्तकमा कथा, कविता, गजल, मुक्तक लगाएत विद्यालाई समावेश गरिएको छ ।

रामपुर साहित्यक प्रतिष्ठानका सचिव दिपकमणी अर्यालको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन रामपुर साहित्यिक प्रतिष्ठानका सदस्य समिर पौडेलले गर्नु भएको हो । दरैठाँटी माविको सभाहलमा भएको कार्यक्रममा विभिन्न साहित्यकारहरुले आफ्ना रचना वाचन गर्नु भएको थियो ।