रामपुर नगरपालिकाद्धारा ७३ करोड ८५ लाख बराबरको बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक

बाेलीखबर   ८ असार २०८१, शुक्रबार १४:१८

पाल्पा । रामपुर नगरपालिकाले आगामी आर्थिक वर्षको लागि बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को लागि नगर सभाको १५ औं अधिवेशन मार्फत ७३ करोड ८५ लाख ४ हजारको बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

नगर सभाको १५ औं अधिवेशनमा नगर उपप्रमुख बालकुमारी थापाले आर्थिक वर्ष २०८१/०८२ को लागि आर्थिक विद्येयक र विनियोजन विद्येयक प्रस्तुत गर्नु भएको थियो । बजेट सार्वजनिक गर्दै नगर प्रमुख थापाले आगामी आर्थिक वर्षको लागि चालु तर्फ ५६ करोड ३१ लाख ४४ हजार र पूँजिगत तर्फ १७ करोड ५३ लाख ६० हजार गरी ७३ करोड ८५ लाख ४ हजार विनियोजन गरिएको बताउनुभयो । जस मध्ये आर्थिक विकास तर्फ ३ करोड १५ लाख ५२ हजार, सामाजिक विकासमा ४० करोड २६ लाख ९३ हजार, पूर्वाधार विकासमा ११ करोड ८० लाख ६० हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र २ करोड ६१ लाख ९९ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ १६ करोड विनियोजन गरिएको बताउनुभयो ।

उहाँले आय तर्फ संघीय समानिकरण अनुदान १२ करोड ६ लाख, संघीय राजस्व बाँडफाँड बाट ११ करोड ६ लाख, संघीय समपुरक पूँजिगत १ करोड ३५ लाख, सशर्त चालु तर्फ ३४ करोड ५३ लाख ४ हजार, संघीय सशर्त पूँजिगत १ करोड २० लाख, प्रदेश समानिकरण अनुदान ८२ लाख ६५ हजार, प्रदेश राजस्व बाँडफाँड ८१ लाख ४० हजार, प्रदेश समपुरक १ करोड ५ लाख, प्रदेश सशर्त १ करोड र आन्तरिक स्रोत बाट ९ करोड ९५ लाख ९५ हजार जुटाउने अनुमान गरिएको बताउनुभयो ।

नगर सभामा रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । थापाले विगतका कार्यक्रमलाई निरन्तरता दिँदै नगरले उत्पादन वृद्धिलाई प्राथमिकतामा राखेको बताउनुभयो । नीति तथा कार्यक्रममा खाद्यान्नको बीउ विजनमा आत्मनिर्भर गराउन विजवृद्धि कार्यक्रम सञ्चालन गर्ने, नगदे बाली रैथाने खाद्यान्न बालीको खेती विस्तर गर्दै व्यावसायिकरण गर्ने, व्यावसायिक कृषि तथा पशुपन्छी फर्म विस्तारका लागि मागमा आधारित कार्यक्रम सञ्चालन गर्ने, स्थानीय वस्तुको उपभोग र उत्पादनलाई प्रोत्साहन गर्न हाट बजार सञ्चालन गर्ने, निस्दीखोला लगायत अन्य खोलाको केही क्षेत्रमा माछा पकेट क्षेत्र बनाइने नीति लिएको छ ।

विदेश बाट फर्किएका तथा रोजगारीको खोजीमा रहेका व्यक्तिहरुमा रहेको सीपको विवरण समेत अद्यावधिक गरि स्थानीय तहमा रहेका रोजगारदाताहरु संग समन्वय गरि रोजगारी प्रदान गर्ने नीति अवलम्बन गर्ने जनाएको छ । पर्यटन प्रवद्र्धनका लागि राम कथा संग सम्बन्धित क्षेत्र, मठ मन्दिर, कुण्ड, नदी, ताल तलैया जोड्ने गरि रामायण सर्किटको अवधारणा अघि बढाउने, होटल व्यवसायी, उद्योग वाणिज्य संघ र छिमेकी स्थानीय तह संग सहकार्य गरी यस वर्ष पर्यटन महोत्सव सञ्चालन गरिने थापाले बताउनुभयो ।

सभाले विद्यायन समितिका संयोजक मीन बहादुर सिंजालीले प्रस्तुत गर्नु भएको स्थानीय युवा परिषद् विद्येयक पारित गरेको छ । साथै लेखा समितिका संयोजक तेज बहादुर राना, विद्यायन समितिका संयोजक मीन बहादुर सिंजाली, अनुगमन तथा सुशासन समितिका संयोजक मोहन बहादुर रानाले पेश गर्नु भएको वार्षिक प्रतिवेदन समेत पारित गरेको छ । सभामा रामपुर नरपालिका ३ का वडा अध्यक्ष दामोदर पाठक, वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले शुभकामना मन्तव्य राख्नु भएको थियो । साथै सभाको शुन्य समय तथा छलफलमा रामपुर ६ का वडा अध्यक्ष दिवाकर देवकोटा, ८ का वडा अध्यक्ष दिनेश आचार्य, १० का अध्यक्ष तोयानाथ सारु थापा लगाएतले आफ्नो सुझाव राख्नु भएको थियो ।

नगर सभाको अवसरमा रामपुर नगरपालिकाले उत्कृष्ट कर्मचारी, करदाता, टोल विकास संस्था संगै पत्रकारलाई सम्मान गरेको छ । नगरपालिकाका प्रशासन शाखा अधिकृत युवराज पन्थी, योजना शाखा प्रमुख विक्रम बस्नेत, वडा सचिव रजनी भण्डारी, वरिष्ठ प्रहरी हवल्दार तारा बहादुर सेन, सवारी चालक केशवराज गैरे, कार्यालय सहयोगी शारदा आचार्य, उत्कृष्ट करदाता चन्द्र सूर्य हार्डवयरका व्यवस्थापक दिपक आचार्य, पन्थे बरादी गैरा टोल विकास संस्था र पत्रकार इमान सिं रानालाई नगद र सम्मान पत्र सहित सम्मान गरेको हो ।

साथै सभामा रामपुर नगरपालिकाले नगरको भुगोल, मुख्य पर्यटकिय एवं ऐतिहासिक स्थललाई समेटेर तयार गरेको लोगो सार्वजनिक गरिएको छ । सभामा प्रस्तुत भएको आर्थिक विद्येयक र विनियोजन विद्येयक माथि थप छलफलको लागि दोस्रो बैठक आगामी असार २० गते बस्ने गरी सभाको पहिलो बैठक सकिएको छ । नमस्ते पाल्पा होटलको सभाहलमा भएको कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको थियो । नगर प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितले गर्नु भएको हो ।