रामपुर नगरपालिका नगर सभाको १५ औं अधिवेशनको दोस्रो बैठक सम्पन्न

बोली खबर   २२ असार २०८१, शुक्रबार ०४:४७

पाल्पा, रामपुर नगरपालिका नगर सभाको १५ औं अधिवेशनको दोस्रो बैठक आज सम्पन्न गरेको छ । नगर सभाले बजेट संशोधन सहित पास गरेको छ । गत असार ६ गते नगर सभाको पहिलो बैठकमा पेश भएको आर्थिक वर्ष २०८१/०८२ को आर्थिक विनियोजन विद्येयक ऐन पारित गर्दै दोस्रो बैठक विहिबार सम्पन्न भएको हो ।

बैठकमा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले आर्थिक विनियोजन विद्येयक ऐन संशोधन सहित नगर सभामा प्रस्तुत गर्नु भएको थियो । पहिलो बैठकमा प्रस्तुत भएको बजेट मध्ये प्रदेश सरकार बाट विशेष अनुदान २० लाख र प्रदेश सशर्तमा ६ लाख थप भए संगै नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट ७४ करोड ११ लाख ४ हजार भएको छ । संशोधन सहितको बजेट प्रस्तुत गर्दै चालु तर्फ ५६ करोड ३२ लाख ४४ हजार र पूँजिगत तर्फ १७ करोड ७८ लाख ६० हजार गरी ७४ करोड ११ लाख ४ हजार विनियोजन गरिएको बताउनुभयो । जस मध्ये आर्थिक विकास तर्फ ३ करोड १५ लाख ५२ हजार, सामाजिक विकासमा ४० करोड २६ लाख ९३ हजार, पूर्वाधार विकासमा १२ करोड ५ लाख ६० हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २ करोड ६१ लाख ९९ हजार र काठर्यालय सञ्चालन तथा प्रशासनिक तर्फ १६ करोड बजेट विनियोजन भएको जानकारी दिनुभयो ।

नगरपालिकाले आय तर्फ संघीय समानिकरण अनुदान १२ करोड ६ लाख, संघीय राजस्व बाँडफाँड बाट ११ करोड ६ लाख, संघीय समपुरक पूँजिगत १ करोड ३५ लाख, सशर्त चालु तर्फ ३४ करोड ५३ लाख ४ हजार, संघीय सशर्त पूँजिगत १ करोड २० लाख, प्रदेश समानिकरण अनुदान ८२ लाख ६५ हजार, प्रदेश राजस्व बाँडफाँड ८१ लाख ४० हजार, प्रदेश समपुरक १ करोड ५ लाख, प्रदेश विशेष अनुदान २० लाख, प्रदेश सशर्त १ करोड ६ लाख र आन्तरिक स्रोत बाट ९ करोड ९५ लाख ९५ हजार जुटाउने लक्ष्य लिएको छ ।नगरपालिकाले १० वटै वडालाई ४२ लाख बराबरको बजेट प्रदान गरेको छ ।

बैठकमा विद्येयक समितिका संयोजक मिन बहादुर सिंजालीले रामपुर नगरपालिकाको नगरसभाको कार्यसञ्चालन कार्यविधि विद्ययेक २०८१ प्रस्तुत गर्नु भएको थियो । सो विद्येययक सर्व सम्मत रुपमा पारित भएको छ । सभाको विशेष समयमा बोल्दै रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँण र शुन्य समयमा रामपुर नगरपालिका–६ का वडा सदस्य हरिनाथ ढुङ्गानाले आफ्नो भनाई राख्नु भएको थियो । नगर सभामा रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले नगर सभाको अधिवेशनले ४ वटा ऐन पारित गरेको जानकारी दिनुभयो ।
सभा समापनको अवसरमा शुभकामना मन्तव्य राख्दै रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले सकारात्मक सन्देश सहित जनप्रतिनिधिहरु जनताको माझमा पुग्नु आवश्यक रहेको बताउनुभयो । उहाँले विगत बाट सिकेको पाठलाई ग्रहण गर्दै नयाँ योजनाका साथ जनप्रतिनिधिहरु सक्रिय हुने समय आएको बताउनुभयो । रामपुर नगरपालिका ३ का वडा अध्यक्ष दामोदर पाठकले नगरको विकासको लागि एकजुट भएर अघि बढ्नु पर्ने बताउनुभयो । नमस्ते पाल्पा होटलको सभाहलमा भएको कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षता र प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितको सञ्चालनमा भएको हो ।