रामपुरमा कपडा बैंक साथै उपकार सुपरमार्ट प्रा.लि.को दोस्रो शाखा स्थापना

बाेलीखबर   २४ असार २०८१, आईतवार १२:०१

पाल्पा । रामपुर नगरपालिका–५, बेझाँडमा कपडा बैंक साथै उपकार सुपरमार्ट प्रा.लि.को दोस्रो शाखा स्थापना भएको छ । मटेरी ठूलोटार देखि सेवा प्रदान गर्दै आएको मार्टले शनिबार देखि बेझाँड बजार चोकमा दोस्रो शाखा सञ्चालनमा ल्याएको हो ।

उपकार सुपरमार्ट प्रा।लि।को दोस्रो शाखा संगै कपडा बैंकको ड्रप बक्सको महानायक एवं क्लोथ एण्ड फुड बैंक नेपालका संरक्षक राजेश हमालले समुद्घाटन गर्नु भएको हो । मार्ट संगै कपडा बैंकको उट्घाटन गर्दै हमालले पाल्पा आफ्नो जन्मथलो भएको बताउँदै पाल्पाको भुगोल र पाल्पाली संग नजिक भएर काम गर्न पाउँदा खुशी लागेको बताउनुभयो

बैंक स्थापना कार्य देशको मुख्य शहर हुँदै पूर्व मेची देखि पश्चिम महाकाली सम्म स्थापनाको क्रममा रहेको बताउनुभयो । कपडा बैंक गरिब तथा निम्न वर्गका लागि मात्र नभै आवश्यक पर्ने सबैको लागि रहेको स्पष्ट पार्नुभयो ।

बजारमा किनमेलको लागि आउँदै गर्दा धेरै कपडा हुनेले बक्समा ल्याएर जम्मा गर्न र प्रशोधन गरेर ल्याईएको लुगा आवश्यक पर्नेले लिएर जान आग्रह गर्नुभयो । हमालले कपडा बैंक स्थापना संगै यात्रा नेपाल डकुमेन्ट्री छायाँङ्कनको लागि आएको बताउनुभयो । उहाँले सबैभन्दा पहिला पाल्पा र पाल्पाको पनि रामपुरमा बाट छायाँङ्कन सुरु गरिएको जानकारी दिनुभयो ।

क्लोथ एण्ड फुड बैंक नेपालका अध्यक्ष कमल जिसीले स्थानीय सरकार र विभिन्न संघ संस्था संग समन्वय गरी कपडा बैंक स्थापना गर्ने क्रम चलिरहेको जानकारी दिनुभयो । उहाँले संकलन भएको कपडा प्रशोधन गरी विपद्मा परेका नागरिक तथा आवश्यक परेका सबैलाई वितरण गर्दै आईरहेको बताउनुभयो ।

रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले कपडा बैंकलाई दिगो रुपमा सञ्चालन गर्नका लागि उद्यागी तथा निजी क्षेत्रको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता जनाउनुभयो । ढकालले मार्टलाई सफलताको शुभकामना दिनुभयो । उपकार सुपरमार्ट प्रा।लि।का अध्यक्ष विष्णु प्रसाद गौतमले व्यवसाय मात्र नहेरी सामाजिक सेवा भावका साथ क्लोथ एण्ड फुड बैंक नेपाल संग समन्वय गरेर बक्स स्थापना गरिएको जानकारी दिनुभयो । १०० जना बढी युवाहरुको सक्रियतामा स्थापना भएको मार्टमा दैनिक उपभोगका सामग्री संगै घरायसी उपयोगका सम्पूर्ण सामानहरु एउटै स्थान बाट प्राप्त गर्न सकिने जानकारी गराउनुभयो ।

कार्यक्रमको सञ्चालन उपकार सुपरमार्टका सञ्चालक दिल बहादुर पुलामीले गर्नु भएको हो । क्लोथ एण्ड फुड बैंक नेपालले जिल्लामा यस अघि रिब्दीकोट गाउँपालिकाको समन्वयमा कपडा बैंक स्थापना गरिसकेको छ ।