माथागढीमा साविक वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न

रमेश राना   १४ जेष्ठ २०८०, आईतवार ११:१५

पाल्पा । तीन कन्या बाल क्लब, माथागढी-७, रहवास मटेरीले आयोजना गरिएको साविक वडा स्तरीय भलिबल प्रतियोगिता बिहीबार सम्पन्न भएको छ। ४० समूह सहभागी रहेको प्रतियोगितामा उदय युवा क्लब, माथागाढी-७, रहवास- ओखरीगौंडाको टिम च्याम्पियन बनेको हाे।

प्रतियोगिता ३ दिन सक्ने  बताइए पनि सहभागी समूहको उल्लेख्य उपस्थितिले गर्दा ४ दिनमा लम्बिएको भलिबल प्रतियोगिताका संयोजक भिम बहादुर लुङ्गेलीले बताउनुभयाे ।

भलिबल प्रतियोगितामा पहिलो-उदय युवा क्लब, दोस्रो- आयोजक टिम तीन कन्या बाल क्लब र तृतीय- केरौली युवा क्लब झडेवाले हात पारेकाे छ ।

खेलको सर्वोत्कृष्ट खेलाडीको रुपमा केरौली युवा क्लब झडेवाका नेत्र काम्मु मगरलाई चयन गरिएको थियो।  प्रतियोगितामा क्रमशः प्रथम,द्वितीय र तृतीयलाई नगद पुरस्कार रु.२० हजार, १५ हजार र १० हजार मेडल र प्रमाणपत्र  सहित प्रमुख अतिथि वडा नं.-७, रहवासका वडा अध्यक्ष जंग बहादुर दर्लामी, विशिष्ट अतिथि महेन्द्र नरेश मा.वि.का प्रधानाध्यापक छविन्द्रलाल बि.कका साथमा अन्य अतिथिहरु लगायतबाट बिजेता समूहलाई प्रदान गरिएको थियो। भने सर्वोत्कृष्ट खेलाडीलाई मायाको चिनो, मेडल र प्रमाणपत्र पनि प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि दर्लामीले बिजेता समूहलाई बधाई र अन्य समूहलाई सहानुभूति प्रकट गर्दै खेल नै हाम्रो स्वास्थ्यलाई मजबुत बनाउने आधार रहेकोले खेलप्रती रुचि जगाउनु राम्रो पक्ष रहेको बताउनुभयो । दर्लामीले खेलबाट धेरै कुरा सिक्न सकिने बताउँदै यस वडाका विभिन्न टोलमा आयोजना गर्दा यतिको संख्यामा टिम संख्या नपरेकोले यो नै ऐतिहासिक उपस्थिति संख्या रहेको बताउनुभयो । खेल सौहार्दपूण तरिकाले सम्पन्न भएकोमा यस्ता ऐतिहासिक प्रतियोगितामा टोलका सम्पूर्ण युवाहरूलाई एकजुट भएर लाग्नुपर्ने समेत प्रमुख अतिथि दर्लामीले बताउनुभयो ।

खेल संयोजक लुङ्गेलीले आफूहरूको सूचनालाई पूर्ण समर्थन जनाइ उल्लेख्य रुपमा टिम सहभागीता जाउने समूहलाई धन्यवाद सहित आगामी वर्षमा सबै पक्षलाई मध्यनजर गर्दै प्रतियोगितालाई निरन्तरता दिने बताउनुभयो । खेल महेन्द्र नरेश मा.विको खेल मैदानमा संचालन भएको थियो।