माथागढीमा जनप्रतिनिधि र पत्रकार बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने

बाेलीखबर   १ कार्तिक २०८०, बुधबार १२:४९

पाल्पा । माथागढी गाउँपालिकाका जनप्रतिनिधि र नेपाल खेलकुद पत्रकार मञ्च बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने भएको छ । आउँदै गरेको बडादशैं, दिपावली, छठ र नेपाल सम्वत् लगाएतका चाडको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम तथा मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने भएको हो ।

नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय समिति पाल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले जनप्रतिनिधि र पत्रकार बीच भातृत्व कायम गर्ने र खेलमैदानको प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रममा अध्यक्ष चिदीले जिल्लाकै खेलमैदानको रुपमा सराई खेलमैदानलाई विकास गर्ने योजना बनाएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखिराम रानाले मनोरञ्जन, सम्बन्ध विस्तार, खेलमैदानको प्रचारप्रसारलगाएतको उद्देश्य प्रतियोगिताले पुरा गर्ने बताए । यही कार्तिक ३ गते माथागढी ३ सराई खेल मैदानमा मैत्रीपुर्ण फुटबल प्रतियाेगिता हुने भएकाे हाे ।

कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष माधव प्रसाद अर्यालले स्वास्थ्य र राष्ट्रको गौरवसँग जोडिएको खेलकुदको विकासमा स्थानीय तहले जोड दिनु सकारात्मक भएको भन्दै खेलकुदको वस्तुगत धरातललाई आत्मासाथ गर्दै यो क्षेत्र विकासका लागि सबै क्षेत्र जुट्न आवश्यक रहेको बताए ।