सरस्वती माविले जित्याे निस्दीकाे ‘पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड’ काे उपाधी

बाेलीखबर   २९ पुष २०८०, आईतवार १४:४९

पाल्पा । निस्दी गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । पालिका भित्रको अन्तर माध्यमिक विद्यालय तह स्तरीय विभिन्न विधाका खेलकुद प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्दै सरस्वती मावि वडा नं। ५ ले रनिङ्ग शिल्ड हात पारेकाे हो । तीन दिन सम्म भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।

निस्दी गाउँपालिकाको खेल मैदान मित्याल झ्याल्टुङ्गमा भएको प्रतियोगिता अन्तर्गत २० विधाको खेलकुद मध्ये पाँच स्वर्ण र पाँच रजत पदक प्राप्त गर्दै सरस्वती मावि प्रथम भएको हो । प्रतियोगितामा वडा नं।–५ को जनता माध्यमिक विद्यालयले पाँच स्वर्ण, तीन रजत र चार कास्य पदक सहित द्वितिय भएको छ । त्यस्तै राधाकृष्ण माध्यमिक विद्यालय निस्दी–१ बाकामलाङ तीन स्वर्ण र चार रजत पदक सहित तृतिय भएको छ । दुई स्वर्ण, ३ रजत र ५ कास्य सहित अंशुवर्मा माध्यमिक विद्यालय निस्दी–२ सान्त्वना भएको छ । प्रतियोगितामा पालिकाभित्रका १२ माध्यमिक विद्यालयको सहभागिता रहेको शिक्षा शाखा प्रमुख नर बहादुर थापाले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने विद्यालयलाई रनिङ्ग शिल्ड कप, कप, मेडल र प्रमाण पत्र सहित नगद पाँच हजार, द्वितिय हुने विद्यालयलाई कप, मेडल र प्रमाण पत्र सहित नगद तीन हजार पाँच सय र तृतिय हुने विद्यालयलाई कप, मेडल र प्रमाण पत्र सहित नगद दुई हजार प्रदान गरिएको थियो । प्रतियोगिता अन्तर्गत भएका २० विद्यामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई सम्मान गरिएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यालयलाई गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु र शिक्षा शाखा प्रमुख नर बहादुर थापाले पुरस्कार प्रदान गर्नु भएको थियो ।

पुरस्कार वितरण गर्दै गाउँपालिका अध्यक्ष सारुले विद्यार्थीहरुलाई बधाई सहित आगामी प्रतियोगिताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका सदस्य सचिव केश बहादुर सुनारीले गर्नु भएको थियो ।