पाल्पामै पहिलो ‘स्टेक जोन’ रामपुरमा शुभारम्भ

बाेलीखबर   २३ जेष्ठ २०८१, बुधबार २०:३०

पाल्पा । पाल्पा जिल्ला मै पहिलो पटक रामपुरमा स्केट जोनको शुभारम्भ गरिएको छ । रामपुर–५, बेझाँड राममन्दिर चोकमा रामपुर स्केट जोन बुधबार देखि सञ्चालनमा आएको हो ।

बालबालिका र युवा पुस्तामा पछिल्लो समय लोकप्रिय स्केट खेलको विकाससँगै, पर्यटन तथा नगरको विकासमा टेवा दिने उद्देश्यका साथ इन्डोर स्केट जोन सञ्चालनमा ल्याईएको सञ्चालक अशोक श्रेष्ठले जानकारी दिनुभयो । ६० लाखको लगानीमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार इण्डोर स्केट जोन सँगै कार्यालय भवन निर्माण गरी सञ्चालनमा ल्याईएको उहाँले जानकारी दिनुभयो ।

स्केट सिकाउनका लागि दुई जना दक्ष प्रशिक्षकको व्यवस्था गरिएको सञ्चालक सन्तोष पोखरेलले बताउनुभयो । उहाँका अनुसार जोनमा स्केटको अभ्यास गराएर राम्रा प्रतिभाको पहिचान गरी प्रतिस्पर्धामा जाने वातावरण सिर्जना गरिने बताउनुभयो । सञ्चालक चन्द्रकुमार श्रेष्ठले स्केट जोनमा खेल्न आउनेहरुका लागि सुरक्षाका सामग्रीको पूर्ण व्यवस्था गरिएको जानकारी दिनुभयो । खेल्ने क्रममा चोटपटक लाग्न सक्ने भएकाले सोही अनुसार दुर्घटना विमा रहेको बताउनुभयो ।

स्केट जोनको सञ्चालकका जेष्ठ अभिभावक प्रेम कुमारी श्रेष्ठ र हरि प्रसाद पोखरेलले संयुक्त रुपमा शुभारम्भ गर्नु भएको थियो । छ जना युवाहरुले करिब दुई रोपनी क्षेत्रफलको जग्गा लिजमा लिएर पूर्वाधार निर्माण गरी स्केट जोन सञ्चालन गरेका हुन् । जसमा ६ हजार स्क्वायर फुटको इण्डोर स्केट जोन निर्माण गरिएको छ ।

स्केट जोन संगै क्याफे सञ्चालनको समेत तयारी भैरहेको सञ्चालकहरुले बताएका छन् । उनीहरुका अनुसार अहिले न्यूनतम शुल्कमा खेल्नको लागि व्यवस्था गरिएको छ ।