पाल्पामा स्थानीय तहसंंग भ्रष्टाचार नियन्त्रण सम्बन्धी अन्तरक्रिया

बाेलीखबर   ४ आश्विन २०८१, शुक्रबार २०:३३

पाल्पा । रामपुर नगरपालिकामा स्थानीय तह स्तरीय भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले रामपुर नगर भित्रका सरोकारवालाहरु संगै अन्तरक्रिया गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका प्रमुख सह–सचिव राजेन्द्र कुमार पौडेलले बेनामी उजुरी आयोगले सुचना लिने एक माध्यम रहेको बताउनुभयो । उहाँले दुःख दिने नियतले उजुरी गर्नेलाई ५ हजार जरिवाना तोकिएको र छानविन गर्ने प्रतिवद्धता गर्नुभयो । स्थानीय कतिपय मुद्दा उजुरीको लागि उजुरी गर्ने समस्या देखिएको र नम्बर पनि अन्य व्यक्तिको दिएर उजुरी गर्ने गरेको बताउनुभयो । उहाँले स्थानीय तहमा खरिद र निर्माणको विषयमा सबै भन्दा धेरै उजुरी पर्ने गरेको जानकारी दिनुभएको थियो । उहाँले विद्यमान कानुनको पलना गरी कार्य सम्पादन गरेमा कुनै डर मान्नु नपर्ने बताउनुभयो ।कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका शाखा अधिकृत धर्मराज बुढाले आयोगको तर्फ बाट कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । आयोगको संगठनिक अवस्था, आयोगका सिमा, संविधानले गरेको व्यवस्था, भ्रष्टाचार हुनुका कारण, भ्रष्टाचारको असर, प्रवृति, भ्रष्टाचार नियन्त्रणका लागि कानुनले गरेको व्यवस्था, भ्रष्टाचार प्रमाणित भएमा हुने सजाय, नियन्त्रणको आवश्यकता, नियन्त्रणमा नागरिकको भुमिका तथा विश्व माझ नेपालको अवस्थाको बारेमा प्रकाश पार्नु भएको थियो । आयोगले आर्थिक वर्ष २०८०÷०८१ म ३६ हजार १८६ उजुरी परेको मध्ये ८४.७२ प्रतिशत अर्थात २७ हजार ७१४ मुद्दा फर्छ्यौट भएको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षमा पाल्पाका स्थानीय तहहरुमा ३७ वटा उजुरी परेको र पाँच वटाको फर्छ्याैट भैसकेको जानकारी दिनुभयो ।

आयोगले विगतमा फिल्ड मै आएर छानविन गरे पनि पछिल्लो समय उजुरी परेमा सुरुवातमा सम्बन्धित कार्यालय बाट जवाफ माग्ने र त्यस पश्चात मात्र फिल्डमा जाने गरेको स्पष्ट पार्नुभयो । साथै मुद्दा छिटो फर्छ्याैट गर्नका लागि आयोगले पहल गर्दै आएको बताउनुभयो ।

रामपुर नगरपालिको सभाहलमा भएको कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका प्रमुख सह–सचिव राजेन्द्र कुमार पौडेलको अध्यक्षता र रामपुर नगरपालिका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिका प्रमुख थापाले आगोगमा गलत नियतले उजुरी दिँदा सास्ती मात्र भएको बताउनुभयो । बेनामी उजुरीले योजनाको काम गर्दा सतर्कता अपनाउन प्रोत्साहन गरेको पनि गलत नियतको उजुरीले विकास निर्माणका काम प्रभावित भएको भन्दै उजुरी दिनेहरु माथि पनि छानविन हुनु पर्ने बताउनुभयो ।

समाजमा आफ्नो काम जसरीपनि प्रलोभनमा पारेर गर्ने, अरुको काममा औला ठड्याउने प्रवृति हावी हुँदैगएको बताउनुभयो ।
कतिपय अवस्थामा ज्ञान नहुँदा काम भाको छ तर मुद्दा परेको छ । अहिले अख्तियारको जवाफ दिँदा दिँदा हैरान भएको छ । एक जना कर्मचारी नै व्यवस्थापन गरेर अख्तियारको जवाफ लेख्न लगाउनु पर्ने अवस्था सृजना भएको छ । यदि गलत नियतले उजुरी हालेको छ भने छानविन गर्नु आवश्यक छ ।’ उहाँले भन्नुभयो । उहाँले आफुले कुनै गल्ती गरेका छैन भने कसैको कसैले उजुरी हाल्दै डराउन नपर्ने बताउनुभयो ।

नगर उपप्रमुख बालकुमारी थापाले अख्तिायारको बारेमा जानेको ज्ञान अरुलाई पनि सिकाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले न्यायिक समितिले कानुनी सल्लाहाकार राख्न नपाउँदा न्याय सम्पादनमा समस्या भएको गुनासो गर्नुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितले इन्जिनयरिङ्गको पाटोमा प्रशासनका कर्मचारीलाई थाहा नहुने तर इन्जिनियरले पास गरेको फाईलमा हस्ताक्षर गर्दा पछि प्रशासनका कर्मचारीले पनि मुद्दा खेप्नु पर्ने अवस्था रहेको बताउनुभयो । रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले अख्तियार प्रति जनताको विश्वास आशा पलाएको बताउँदै कतिपय अवस्थामा स्पष्ट ऐन तथा कानुनहरु नबन्दा स्थानीय तहमा समस्या देखिएको उल्लेख गर्नुभयो । दरैठाँटी माविका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटाले अख्तियार दुरुपयोगको विषयमा जानकारी नहुँदा पनि समस्या भएको बताउनुभयो ।

अन्तरक्रियामा सहभागी अधिकांश सरोकारवालाहरुले दुःख दिने नियतले बेनामी उजुरी पर्दा समस्या भएको बताएका थिए । रामपुर नगरका सल्लाहाकार विष्णु मायाँ ढकालले बेनामी उजुरीका कारण योजनाका काम गर्न समस्या भएको बताउनुभयो । रामपुर–३ का वडा अध्यक्ष दामोदर पाठकले योजनाको काम सुरु नहुँदै दुःख दिने नियतले उजुरी दिनेहरुलाई छानविन गरि कार्वाही गर्नु पर्ने बताउनुभयो । रामतुलसी मा.वि.का प्रधानाध्यापक बालकृष्ण लम्सालले झुट्टा उजुरी दिने माथि पनि छानविन गरेर सार्वजनिक गर्नु आवश्यक रहेको बताउनुभयो । नगरका सल्लाहाकार दिनेश कुमार खनालले मुद्दाका कारण रजघरा खानेपानीको काम हुन नसकेको गुनासो गर्नुभयो । त्यस्तै नेकपा (एकिकृत समाजवादी) रामपुरका अध्यक्ष फणेश्वर गौतमले उजुरीको समयमा फर्छ्याैट नहुँदा समस्या भएको बताउनुभयो ।

त्यस्तै लक्ष्मीनारायण गुठी संस्थाका अध्यक्ष बुद्धि प्रकाश रेग्मीले गुठीको जग्गा मोहीहरुले आफ्नो नाममा नामसारी गरेको जानकारी गराउनु भएको थियो । जनकल्याण माविका प्रधानाध्यापक आनन्त प्रसाद भण्डारीले अख्तियारको दुरुपयोग गर्ने साना र ठूला सबैको छानविन हुनुपर्ने बताउनुभएको थियो ।
रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका सिडिई पुण्यराम सुलुको स्वागत र प्रहरी सहायक निरीक्षक विरेन्द्र कार्कीको सञ्चालनमा भएको थियो । कार्यक्रममा रामपुर नगरपालिकाका जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापक, नगरपालिका तथा नगर भित्रका सरकारी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।