ज्योतिपुञ्ज कपमा ‘सुपर १० टिम’ काे प्रतिस्पर्धा हुने

बाेलीखबर   १५ आश्विन २०८१, मंगलवार १५:३०

पाल्पा । ज्योतिपुञ्ज युवा क्लब रामपुर, पाल्पाले आयोजना गरेकाे ‘ज्योतिपुञ्ज कप खुला फुटबल प्रतियोगिता’मा सुपर १० टिमकाे प्रतिस्पर्धा हुने भएको छ । कार्तिक ४ गतेदेखि १० गतेसम्म हुने प्रतियोगितामा पाल्पाबाहेक रुपन्देही, पोखरा, काठमाडौँ, स्याङ्जा, पूर्वी नवलपरासी, पश्चिम नवलपरासीका उत्कृष्ट टिमको सहभागिता हुने क्लबका अध्यक्ष सुदीप गौतमले जानकारी दिनुभयाे ।

गौतमका अनुसार त्रिशक्ति युथ क्लब काठमाडौँ, गन्नी फुटबल क्लब पोखरा, देवदह ब्यायज रुपन्देही, आयोजक ज्योतिपुञ्ज युवा क्लब पाल्पा, होराइजन क्लब वालिङ, भैरव स्पोर्ट नवलपरासी सहभागी हुनेछन् ।

त्यस्तै, युनाइटेड युथ क्लब गिरवारी पुर्वी नवलपरासी, फर्साटिकट फुटबल क्लब रुपन्देही, २८ बिघा युथ क्लब कावासोती पुर्वी नवलपरासी, न्यू युथ युनियन तानसेन पाल्पाको टिम सहभागी हुनेछन् ।

ज्योति पुञ्ज युवा क्लव रामपुर–७, किसानबारी पाल्पाले आफ्नो २८ औं वार्षिक उत्सवका अवसरमा खुल्ला फुटबल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा विजेताले ३ लाख ३ हजार ३३३ र उपविजेताले १ लाख ७७ हजार ७७७ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।