रामपुरका ज्येष्ठ नागरिकहरुलाई सम्मान सहित स्वास्थ्य परिक्षण

बाेलीखबर   २३ जेष्ठ २०८१, बुधबार १७:५९

पाल्पा । रामपुर नगरपालिकाले वरिष्ठ ज्येष्ठ नागरिकहरुकाे सम्मान सहित स्वास्थ्य परिक्षण गरेको छ ।नगरपालिकाले साेमबार नगर भित्रका ११ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान सहित स्वास्थ्य परिक्षण र अभिमुखिकरण प्रदान गरेको हाे । नगरपालिकाले प्रत्येक वडाबाट १/१ जना गरी ११ जना सबै भन्दा ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो।ज्येष्ठ नागरिकहरुलाई छाता,दोसल्ला,थर्मस,सम्मान पत्र नगद सहित सम्मान गरेको हो ।

ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दै ज्येष्ठ नागरिक महासंघका केन्द्रिय अध्यक्ष छत्र प्रधानले ज्येष्ठ नागरिकहरुलाई सरकारले प्राथमिकतामा राख्न आवश्यक रहेको बताउनुभयो । सरकारले ज्येष्ठ नागरिकको लागि विभिन्न कानुनी व्यवस्था गरे पनि कार्यान्वयन पक्ष कमजोर रहेको बताउनु भएको छ । “राज्यले धेरै सुविधा दिने भने पनि ज्येष्ठ नागरिकले नपाउनु दुखद पक्ष हो अध्यक्ष प्रधानले भन्नुभयो – सबै अधिकार र सुविधा पाउनका लागि अब हामी आफै लाग्नुपर्छ ।” उहाँले ज्येष्ठ नागरिकको अधिकार सुनिश्चितता र सम्मानित जीवनयापनका लागि राष्ट्रिय नीतिमा परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले ज्येष्ठ नागरिकहरुको सुरक्षित र सम्मानित जिवनका लागी रामपुर नगरपालिकाले छोराछोरीको भूमिका निर्वाह गर्ने बताउनु भएको छ ।उहाँले ज्येष्ठ नागरिकको अधिकार र सुरक्षित एव सम्मानित जिवनका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।साथै स्वतन्त्रपूर्वक र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगर प्रमुख थापाले नगरपालिका भित्रका ज्येष्ठ नागरिकहरुलाई मध्यनजर गरेर यातायात र स्वास्थ्य सेवा सहितको ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारीमा रहेको बताउनु भएको छ । उहाँले पछिल्लो समय समाजमा विकृति विसंगती व्याप्त रहेको भन्दै यसका लागि ज्येष्ठ नागरिकहरु संग शिक्षा लिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

यस्तै  रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले नैतिक ज्ञानको अभावमा पछिल्लो समय अग्रज ज्येष्ठ नागरिकहरुलाई सम्मानजनक व्यवहार नहुनु दुखद रहेको बताउनुभयो । साथै उहाँले सन्तानले सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रदान नगरे न्यायीक समितिको माध्यमबाट अधिकारको सुनिश्चितता गरिदिने बताउनुभयो । ज्येष्ठ नागरिक महासंघका केन्द्रिय सदस्य सुर्य प्रसाद श्रेष्ठले ज्येष्ठ नागरिकको मर्म र भावना बुझ्न नसक्दा अपहेलनामा परेको बताउनु भएको छ । ज्येष्ठ नागरिकको सुरक्षा र सम्मानका लागि सबैले ध्यान दिन आवश्यक रहेको ‍औँल्याउनुभयो । यस्तै रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं.१ का अध्यक्ष कपिल बहादुर खाँणले ज्येष्ठ नागरिक समाजको मार्गदर्शक मात्र नभई सृष्टिकर्ता र सर्जक पनि भएको बताउनुभयो ।  साथै हरेक क्षेत्रमा सहजता र सहुलियत प्रदान गर्नका लागि नगरका हरेक वडामा सहजिकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा ज्येष्ठ नागरिक संघ पाल्पाका अध्यक्ष देवराज ढकालले ज्येष्ठ नागरिक देशको अमूल्य सम्पत्ति भएको भन्दै हेलामा परेका नागरिकको सुरक्षाका निम्ती सबै लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा ज्येष्ठ नागरिक महासंघका केन्द्रिय सदस्य डाक्टर प्रेम शर्माले ज्येष्ठ नागरिकको अधिकार,राज्यले गरेको कनुनी व्यवस्था, सुविधा लगाएतका विषयमा सहजिकरण गर्नु भएको थियो । कार्यक्रमका अवसरमा सहभागि ज्येष्ठ नागरिकहरुलाई टिका खादा सहित सम्मान गरिएको थियो । सोही अवसरमा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरि औषधी वितरण समेत गरिएको थियो ।

रामपुर नगरपालिकाको आयोजना र ज्येष्ठ नागरिक संघ पाल्पाको समन्वयमा भएको कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षता र ज्येष्ठ नागरिक महासंघका केन्द्रिय अध्यक्ष छत्र प्रधानको प्रमुख आतिथ्यतामा सम्मपन्न भएको हो । नमस्ते पाल्पा होटलको सभाहलमा नगर उपप्रमुख बाल कुमारी थापाको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन रामपुर नगरपालिका न्यायीक समिति सचिवालय सचिव पार्वती परियारले गर्नु भएको थियो ।