रामपुर साकोसले संस्था स्थापना दिवस मनायो

बाेलीखबर   २०८०-०२-०१

पाल्पा । रामपुर वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले संस्था एकिकरण पश्चात् सेवा शुभारम्भ गरेको १६ वर्ष पुगेको अवसरमा सोमवार स्थापना दिवस मनाएको छ ।

संस्थाको कार्यालय रामपुर नगरपालिका वडा नं ५ स्थित बेझाडमा एक कार्यक्रम गरी संस्था स्थापना दिवस मनाइएको हो । संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा रामपुर साकोसका निवर्तमान अध्यक्ष राजुप्रसाद श्रेष्ठ रहनुभएको हो ।

प्रदेश सभा सदस्य श्रेष्ठले नेपालमै रामपुर साकोसले संस्था एकिकरणको नयाँ अभ्यास थालनी गरेर सेवा दिएको जानकारी गराउनुहुदै संस्थाले सहकारीको मर्म र भावना अनुसार काम गरिरहेको बताउनुभएको छ । उहाँले नेपालमा पछिल्लो समय विभिन्न सहकारीको नकारात्मक हल्ला फैलिएको हुदा यस साकोसले सहकारीको हितमा सदस्य सेवालाई प्राथमिकता दिएर काम गरिरहेको हुदा ढुक्कले सेवा लिन सबैलाई अनुरोध गर्नुभएको छ ।

कार्यक्रमको संचालन संस्थाका व्यवस्थापक रामचन्द्र अधिकारीले गर्नुभएको हो । रामपुर वचत तथा ऋण सहकारी संस्था र चन्द्रज्योती वचत तथा ऋण सहकारी संस्था बीच एकिकरण गरी सेवा प्रवाह भइरहेको छ । संस्था एकिकरण पश्चात् विसं २०६५ जेठ १ गते संस्थाले सेवा थालनी गरेको हो ।

हाल संस्थामा चार हजार आठ सय ७० जना सेयर सदस्य आबद्ध छन् । संस्थाको कुल पुँजी रु ५६ करोड ७९ लाख, सेयर पुँजी रु पाँच करोड ४९ लाख रहेको छ ।