भीम बहादुर थापा स्मृति भलिबल कपको उपाधि रामपुर गेझालाई

  २०८३-०८-०३


होम राई मगर
पाल्पा, २ मंसिर । निस्दी गाउँपालिका–७, हुबासमा संचालित भीम बहादुर थापा भलिबल कप वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि रामपुरको गेझा भलिबल क्लबले जितेको छ ।
कार्तिक २९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेलमा गेझाले पूर्वखोलाको सिलुवा भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।
उपाधिसँगै गेझाले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता सिलुवाले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।


त्यस्तै, तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा हेक्लाङ्ग भलिबल क्लबले बिरकोट क्लबलाई २–० को सेटमा पराजित गरेको थियो । तृतीय स्थान हासिल गरेको हेक्लाङ भलिबल क्लबले नगद १५ हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गरेको बिरकोट भलिबल क्लबले नगद ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा गेझा भलिबल क्लबका वीरबहादुर राकासकोटी उत्कृष्ट खेलाडी घोषित भएका छन् । विधागत पुरस्कारतर्फ बेस्ट स्पाइकरमा गेझाका दिपेश आले, बेस्ट सेटरमा सिलुवा भलिबल क्लबका अभिनद राना, बेस्ट डिफेन्डरमा सिलुवा भलिबल क्लबकै अमित राना, बेस्ट ब्लकरमा हेक्लाङ्गका देव बहादुर सिंजाली र बेस्ट कोचमा गेझा भलिबल क्लबका दिलीप सुनार पुरस्कृत भएका छन् ।


प्रतियोगिताका विजेता, उपविजेता तथा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो । साथै, प्रतियोगिता सञ्चालनका लागि आर्थिक सहयोग गर्ने सहयोगदाताहरूलाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा छमछम केन्द्र तानसेन र अर्चले नृत्य समूह अर्चलेका कलाकारहरुले विभिन्न सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्थानीय शिक्षक भीम बहादुर सारुले स्वर्गीय भीम बहादुर थापाको जीवनी र योगदानका बारेमा चर्चा गर्नुभएको थियो । स्वर्गीय थापा तत्कालीन ज्यामिरे गाविसका अध्यक्ष समेत हुनुहुन्थ्यो ।त्यसैगरी प्रमुख अतिथिका रूपमा उपस्थित निस्दी गाउँपालिका–७, ज्यामिरेका वडा अध्यक्ष मुक्त बहादुर पाटाले कार्यक्रमको आवश्यकता र महत्त्व बारे आफ्नो धारणा राख्नुभएको थियो । क्लबका अध्यक्ष योगेन्द्र थापा अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबका सचिव मिलन सारुले गर्नुभएको थियो ।