मंसिर ६, पाल्पा । रामपुरस्थित रामतुलसी माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण (आईएसओ) प्रमाणपत्र प्राप्त गरेको छ। अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आईएसओ) का निर्धारित मापदण्डअनुसार भौतिक तथा शैक्षिक क्षेत्रका ८० प्रतिशतभन्दा बढी सूचक पूरा गरेपछि विद्यालयले उक्त प्रमाणपत्र प्राप्त गरेको हो।
यसअघि पाल्पाको दमकडा माध्यमिक विद्यालयले उक्त प्रमाणपत्र प्राप्त गरेको थियो। आइतबार आयोजित कार्यक्रममा ग्लोबल क्वालिटी काउन्सिल नेपालका राष्ट्रिय निर्देशक सुदीप शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल श्रेष्ठ (अशोक) र प्रधानाध्यापक बालकृष्ण लम्साललाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य सन्दीप राना प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा रानाले रामपुरलाई वैदिक स्मार्ट सिटी तथा शैक्षिक हबका रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो। रामपुरको सामाजिक, सांस्कृतिक, धार्मिक तथा शैक्षिक पहिचानलाई आधुनिक विकाससँग जोडेर अघि बढाउनुपर्ने उल्लेख गर्दै उहाँले विद्यार्थीलाई रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्न सक्ने जनशक्ति बन्न आग्रह गर्नुभयो।
लुम्बिनी प्रदेशसभा सदस्य एवं अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले एउटा चौतारीबाट सुरु भएको विद्यालय अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुग्नु गौरवको विषय भएको बताउनुभयो। विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार विकासलाई सँगसँगै अघि बढाउनुपर्ने उहाँको भनाइ थियो।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले विद्यालयले अन्तर्राष्ट्रिय पहिचान हासिल गरेर नगरको गरिमा बढाएको बताउनुभयो। विद्यालयको शैक्षिक तथा भौतिक विकासमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उहाँले गुणस्तर कायम राख्न प्रभावकारी शिक्षण सिकाइ र विद्यार्थीको उपलब्धिमा सबै सरोकारवालाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले संस्कारसहितको शिक्षा प्रदान गर्न ज्येष्ठ नागरिक स्कुल सञ्चालन गरिएको र नेपाल विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापनाका लागि छलफल भइरहेको जानकारी दिनुभयो।
शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका प्रमुख प्रेमराज खरेलले प्रमाणपत्र प्राप्त गर्नु मात्र ठूलो कुरा नभई त्यसले निर्धारण गरेका मापदण्डलाई व्यवहारमा निरन्तर लागू गर्नु महत्वपूर्ण हुने बताउनुभयो।
रामपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख विकल काफ्लेले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरणले विद्यालयको गरिमा थप बढाएको बताउनुभयो। दरैठाँटी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटाले यस उपलब्धिले अन्य विद्यालयलाई पनि शैक्षिक गुणस्तर सुधार गर्न प्रेरणा दिने बताउनुभयो।
कक्षा ११ का विद्यार्थी एञ्जल बगालेले विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तरको प्रमाणपत्र प्राप्त गर्नु विद्यार्थीका लागि गौरवको विषय भएको बताउँदै यसले थप उत्साह र जिम्मेवारीबोध बढाएको उल्लेख गर्नुभयो।
प्रमाणपत्र प्रदान गर्ने ग्लोबल क्वालिटी काउन्सिलका नेपाल राष्ट्रिय निर्देशक सुदीप शर्माले विद्यालयले भौतिक तथा शैक्षिक क्षेत्रका ८० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेकाले प्रमाणीकरण गरिएको जानकारी दिनुभयो। प्रमाणपत्र प्राप्तिसँगै थप जिम्मेवारी पनि थपिएको उल्लेख गर्दै उहाँले उपलब्धिलाई निरन्तरता दिन आग्रह गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल श्रेष्ठले अन्तर्राष्ट्रिय मापदण्डअनुसार शतप्रतिशत सूचक पूरा गर्ने लक्ष्य हासिल गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो। प्रधानाध्यापक बालकृष्ण लम्सालले आईएसओ प्रमाणपत्र प्राप्तिले विद्यालय परिवारमा थप उत्साह र जिम्मेवारी बढाएको बताउनुभयो।
प्रधानाध्यापक लम्सालको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक लेखनाथ शर्मा मरासिनीले गर्नुभएको थियो भने विद्यालय व्यवस्थापन समितिका सदस्य शेषकान्त भट्टराईले धन्यवाद ज्ञापन गर्नुभएको थियो।


