गोपीकृष्ण बस्याल
पाल्पा । रामनदी धाममा सञ्चालित श्रीमद्भागवत पितृ उद्धार ज्ञान महायज्ञ २०८३ को दोस्रो दिन धार्मिक अनुष्ठान, श्रीमद्भागवत कथा वाचन, संगीतमय भजनकीर्तन तथा विभिन्न संघसंस्था र भक्तजनबाट सहयोग घोषणा गर्दै सम्पन्न भएको छ।
महायज्ञको दोस्रो दिन सहअध्यक्ष शालिकराम बस्यालले महायज्ञको उद्देश्य र महत्वबारे जानकारी गराउँदै उपस्थित अतिथि तथा आगन्तुकहरूलाई स्वागत एवं धन्यवाद व्यक्त गर्नुभएको थियो। प्रमुख भजन गायक सुरज भण्डारीको टोलीले गणेश भगवान्को स्तुतिसहित भजन प्रस्तुत गरेर महायज्ञको धार्मिक कार्यक्रम शुभारम्भ गरेको थियो।
महायज्ञका प्रमुख वाचक पण्डित गुरुदेव नेत्र पराजुली ‘नरत्तम शरण’ले श्रीमद्भागवत कथामार्फत आध्यात्मिक ज्ञान, जीवन दर्शन र धार्मिक महिमाबारे प्रवचन दिनुभएको थियो। उहाँले रामनदी धामको धार्मिक महत्व उल्लेख गर्दै विराट चक्रशिला, भगवान् श्रीरामले पाइला टेकेको भूमि तथा रामचरण पादुकासम्बन्धी प्रसङ्ग पुराणमा उल्लेख रहेको जानकारी गराउनुभयो।
श्रीमद्भागवतमा उल्लेखित मंगलाचरण तथा ऋग्वेदसँग जोडिएका आध्यात्मिक पक्षबारे चर्चा गर्दै उहाँले श्रीमद्भागवतले मानिसलाई जिउने कला, ज्ञान, विज्ञान र जीवनप्रतिको सकारात्मक उत्प्रेरणा प्रदान गर्ने बताउनुभयो। शरीर, मन र विचारसँग सम्बन्धित ताप तथा तिनको जीवनमा पर्ने प्रभावलाई समेत कथावाचनमार्फत प्रस्ट पार्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि गल्याङ नगरपालिकाका पूर्वनगर प्रमुख भूपराज अधिकारीले आफूले यस गुरुकुलमलाई सुरुदेखि नै नजिकबाट हेर्दै आएको र यसको स्थापनासँग आफ्नो पनि सम्बन्ध रहेकाले महायज्ञ सञ्चालन भएको देख्दा खुसी लागेको बताउनुभयो। उहाँले रामनदी धाम अत्यन्तै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल भएको उल्लेख गर्दै यसको विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी अगाडि बढाउने प्रयास भइरहेको जानकारी दिनुभयो।
उहाँले रामनदी धामलाई भारतका विभिन्न प्रसिद्ध तीर्थस्थलजस्तै विकास गर्न आवश्यक रहेको धारणा राख्दै गुरुकुलमको शैक्षिक तथा धार्मिक गतिविधिलाई निरन्तरता दिन आफूले अक्षयकोष स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी गल्याङ नगरपालिका वडा नम्बर ११ का दलबहादुर सिङ्जालीले राम्दी क्षेत्रको विकासका विषयमा आफूले नगरपालिकामा निरन्तर आवाज उठाउँदै आएको बताउनुभयो। उहाँले गुरुकुलमको दीर्घकालीन सञ्चालन र विकासका लागि आफू पनि अक्षयकोष स्थापनाकर्ता बन्ने प्रतिबद्धता जनाउनुभयो।
महायज्ञलाई थप संगीतमय बनाउन वरिष्ठ भजन गायक मोहन पुलामी तथा कालरुद्र भजन समूहका संयोजक सुरज भण्डारीको टोलीले भक्तिमय भजनकीर्तन प्रस्तुत गरेको थियो। भजनकीर्तनमा भक्तजनहरू झुम्दै नाचगानमा सहभागी भएका थिए। कार्यक्रममा महाराज परीक्षित र कालको प्रसङ्गमा आधारित नाट्य प्रस्तुतिसमेत गरिएको थियो। कथावाचनको अन्त्यमा आरती गरी भक्तजनहरूलाई टीका तथा प्रसाद वितरण गरिएको थियो।
महायज्ञमा धार्मिक सहभागितासँगै सहयोग र दानको क्रमसमेत उत्साहजनक देखिएको छ। बगनासकाली गाउँपालिका वडा नम्बर ७ खानीगाउँ निवासी अर्जुन पाठक र खुमलाल पाठकले महायज्ञ सचिवालयमार्फत सहयोग प्रदान गर्नुभएको छ।
त्यसैगरी राधाकृष्ण आमा समूह राम्दीले गुरुकुलको अक्षयकोषमा योगदान गर्नुका साथै महायज्ञ अवधिभर प्रत्येक साँझ नियमित रूपमा प्रज्वलन गरिने दीपका लागि एक लाख ८१ हजार बत्ती दान गरेको छ। महायज्ञ सचिवालयका सदस्य तुलसीराम अर्यालले दोस्रो दिन विभिन्न दाताबाट प्राप्त सहयोगको विवरण सार्वजनिक गर्नुभएको थियो।
महायज्ञमा विभिन्न संघसंस्था, आमा समूह, धार्मिक अभियन्ता तथा भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको थियो। महायज्ञ आयोजक मूल समितिका अध्यक्ष कृष्णप्रसाद बस्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
धार्मिक आस्था, पितृ उद्धारको भावना, गुरुकुल शिक्षाको संरक्षण र रामनदी धामको धार्मिक पर्यटन प्रवर्द्धनलाई जोड्दै सञ्चालित महायज्ञले यस क्षेत्रको धार्मिक पहिचान र विकासमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।





