रामपुरका अव्यवस्थित २ सय ६२ जना जग्गाधनीलाई जग्गाधनी पुर्जा वितरण

बोलीखबर   २०८०-०२-०४

पाल्पा । राष्ट्रिय भूमि आयोग पाल्पाले रामपुर नगरपालिका भित्रका थप ३ सय ५४ अव्यवस्थित जग्गाधनीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको छ । ५० वर्ष अघि देखिको अव्यवस्थित बसोबासीको समस्या रहेको रामपुरमा दोस्रो चरणमा बुधबार पूर्जा वितरण गरेको हो ।

आयोगले पहिलो चरणमा गत पुस ८ गते २ सय ६२ जना जग्गा धनीलाई पूर्जा वितरण गरेको थियो । अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी प्रमाण पूर्जा वितरण गर्दै राष्ट्रिय भूमि आयोगका केन्द्रिय उपाध्यक्ष एवं प्रवक्ता नहेन्द्र खड्काले अबको २ वर्ष भित्र नेपाललाई भूमिहिनता र सुकुम्बासी मुक्त बनाउने गरी आयोगले आफ्ना गतिविधि सञ्चालन गर्दै आएको बताएका थिए । देशमा भूमि हिनताको अन्त्यको लागि देश व्यापीरुपमा अभियान सञ्चालन गरेको बताउँदै उनले, “स्थानीय तहहरुको सहयोग प्रर्याप्त भएको स्थितिमा आउने २ वर्ष भित्र सधैंका लागि भूमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको भूमि सम्बन्धी समस्यालाई अन्त्य गर्न, नेपाललाई भूमिहिनता र सुकुम्बासी मुक्त देश बनाउन लागि रहेका छौं ।”

भूमिहिन दलित, भूमि हिन सुकुम्बासीलाई निशुल्क रुपमा जग्गा उपलब्ध गराउन, अव्यवस्ति बसोबासीहरुलाई तोकिएको शुल्क लिएर जग्गा उपलब्ध गराउनका लागि सरकारले राष्ट्रिय भूूमि आयोग गठन गरेको बताउँदै भूमि हिनताको राष्ट्रिय अभियानको रुपमा आयोगले लालपूर्जा तयार गर्ने वितरण गर्ने लगाएतका कामहरु देश व्यापी रुपमा गरिरहेकाे जानकारी दिएका थिए । उनले “देशमा ५० लाख भन्दा धेरै नागरिक भूमि हिनताको अवस्थामा रहेका छन् । अहिले देशैभर बाट साढे १३ लाख भन्दा बढी जनताले राष्ट्रिय भूमि आयोग समक्ष निवेदन पेश गरेका छन् । जस मध्ये ८ लाख ३६ हजार भन्दा धेरै निवेदनहरु कम्प्युटर प्रणालीमा इन्ट्री भएका छन् । १ लाख २५ हजार भन्दा धेरै कित्ता जग्गाहरु नापजाँच भैसकेको छ । २५ सय लालपूर्जा वितरण भैरहेको छ ।” रामपुर नगरका भुमिहिन दलित ५७, भुमिहिन सुकुम्बासी ६१ ज्ना र अव्यवस्थित बसोबासी ४ सय २७ जनाको इन्ट्री भएको छ ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाका अध्यक्ष मोहन लाल गैरेले पहिलो र दोस्रो चरणमा गरी हाल सम्म रामपुरमा हाल सम्म ६ सय १६ वटा लालपूर्जा वितरण भएको बताएका थिए । रामपुरको अव्यवस्थित बसोबासीको समस्या धेरै पहिले देखिको भएकाले प्राथमिकताका साथ अघि बढाएको जानकारी दिए । उनका अनुसार ६ सय १६ अव्यवस्थि जग्गाधनी पूर्जा वितरण बाट १० करोड २४ लाख ९ हजार ६ सय ३७ राजस्व संकलन भएको छ । हाल सम्म ९४ रोपनी, १३ आना, २ पैसा ०९८ दाम क्षेत्रफलको जग्गालाई पूर्जा वितरण गरिएको छ ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेको स्वागत र योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा भएको हो । तत्कालीन रामपुर गाउँ पञ्चायतले पूर्वाधार निर्माण तथा सामाजिक कार्यको लागि र हालको रामतुलसी मा.वि., दरैठाँटी मा.वि., आधारभूत मावि, नवदुर्गा मावि लगाएतका विद्यालयहरुले विद्यालय सञ्चालनको लागि तत्कालिन समयमा विक्री गरेको जग्गामा बसोबास गर्दै आएका स्थानीय लालपूर्जा प्राप्ति संगै खुशी भएकाछन् । २०५५ साल सम्ममा विक्री वितरण भएका रामपुर नगरपालिका ५, ६ र ७ का ७ सय ८३ वटा घडेरी मध्ये पहिलो र दोस्रो चरणमा गरी पूर्जा वितरण गरेको हो ।