टिकापुर घटनाका दोषी रेशम चौधरी रिहा

बाेलीखबर   २०८०-०२-१५

काठमाडौं । टीकापुर हत्याकाण्डका योजनाकार रेशम चौधरी गणतन्त्र दिवसमा आममाफी पाउँदै जेलमुक्त भएका छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै सोमबार बिहान चौधरी डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीको स्वागतमा बिहानैदेखि कारागार परिसरमा भिड लागेको थियो ।
टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर तीनै तहको अदालतबाट जेल सजाय पाएका चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएसँगै छुटेका हुन् ।

उनको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, नेतृ एलिजा गौतमसहित सयौं नेता कार्यकर्ता, शुभेच्छुक डिल्लीबजार कारागार पुगेका थिए ।

रेशमलाई फूलमालाले भव्य स्वागत गरिएको छ ।