पाल्पा । रामपुर रहेकाे एक कृषि सहकारी संस्थाले स्याङ्जा वालिङ्काे एक एग्रोभेटलाई मल बेचेको प्रहरीले फेला पारेको छ । नेपाल सरकारले किसानलाई अनुदानमा दिएको मल सहकारी मार्फत किसानलाई बितरण गर्नुपर्नेमा अन्य जिल्लाको एग्रोभेटलाई मल बिक्री गरेको पाइएको हो ।
पाल्पा रामपुर ७ स्थित हराभरा कृषि सहकारी संस्थाले वालिङ भकुण्डेको गरिमा एग्रोलाई मल बिक्री गरेर बाटाे लैजादै गर्दा मल गाडी सहित भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख इकवाल हवारीले बताउनुभयो । हवारीका अनुसार पाल्पाको सहकारी मार्फत प्रतिबोरा १ हजार ५० का दरले बिक्री गरेको बिल सहित मल ल्याएको पाइएपछि कानुन बिपरित बाहिर बिक्री भएको पाए पछि रामपुर नगरपालिकालाई मल फिर्ता पठाइएको हाे ।
प्रहरीका अनुसार ४० बोरा युरिया मल वालिङ वडा प्रहरी कार्यालयले समातेर रामपुर नगरपालिकालाई पठाएको छ । मल शुक्रवार अबेर नगरपालिकाले भण्डारण गरेको छ । रामपुर नगरपालिकाले हरभरा कृषि सहकारीलाई २ सय बोरा मल उपलब्ध गराएको नगरपालिकाका कृषि शाखा प्रमुख रामहरी पाण्डेले बताउनुभयो । रामपुर नगरपालिकाले ढुवानी जोडेर १ रुपैया मात्र नाफा लिएर किसानलाई बेच्न सहकारीलाई मल दिएको थियो । मल बिक्री बितरण गर्ने सहकारीलाई यो बर्ष पनि मल दिएकोमा बाहिर बेचेको भेटिएको हो ।
विभिन्न सहकारीलाई पटक- पटक गरि पछिल्लो समय रामपुर नगरपालिकाले ११ सय बोरा मल बिक्रीलाई दिएको थियो । हराभरा कृषि सहकारी संस्थाका अध्यक्ष गितादेवी भट्टराई उपाध्ययले सहकारी सदस्यबाटै चलेको पसलबाट किसानलाई मल बिक्री गर्दै आएकोमा वालिङ कसरी पुग्यो भन्ने बिषयमा आफू अनबिज्ञ रहेको बताउनुभयो । किसानलाई दिन भनेर सम्झौता गरी सहकारी संस्थाका एक सदस्यलेनै चलाएको पसललाई सहकारीले मल विक्री गरेकाे बताइएकाे छ ।


