पाल्पा । रामपुर नगरपालिका वडा नम्बर ६ पाल्पाका नागरिकले आज भगवान इन्द्रदेवको पुजा गरि पानी मागेका छन् । आज अकला कालिका दुर्गा मन्दिरमा पुजा आरधना गरी पन्चेबाजा बजाउदै नाच्दै गाउदै कालीगण्डकी नदी किनार परेवाघाटमा पुगेर फूलपाती सेलाएर पानी छेपाछेप गर्दै पानी मागेका हुन् ।

मन्दिर व्यवस्थापन समिती अध्यक्ष कृष्णप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा करिब ३ सय घरपरिवार सहभागी रहेकाे थियो । प्रत्येक घरपरिवारबाट दान संकलन गरी पुजा आरधना व्यवस्थापन मिलाइएको मन्दिर व्यवस्थापन समिती उपाध्यक्ष ज्ञानप्रसाद ढकालले बताए । पुजा गरेर यसरी पानी फाल्ने नुहाउने गरे पानी पर्ने विश्वास रहेको स्थानिय मन्जु ढुङगानाले बताइन । कालीनदी परेवाघाट क्षेत्रबाट नै मन्दिरमा मुर्ति लगेर पुजा गरिरहेको र त्यही मन्दिरमा पुजा गरी मुर्ति लगेकै स्थानमा फूलपाती सेलाएर नुहाउने कार्य गर्दा विगतका बर्षमा पनि पानी परेको विश्वासले इन्द्र भगवानको पुजा तथा रुद्री पुजा गरेको स्थानिय पंण्डित हरिप्रसाद पौडेलको भनाइ छ ।

२०३६ सालमा स्थापना भएको मन्दिरमा नियमित पाठपुजा आरधना तथा कुनै पर्व विशेषमा मेला समेत लाग्ने गर्दछ । लामो समय सम्म पानी नपरेपछि कृषकहरु निकै समस्यामा परेका छन् । खेतवारीमा भएका अन्न तथा तरकारी बाली सुकेका छन् । समयमा पानी नपर्दा यसबर्ष खेतमा रहेका मकैबाली नष्ट हुने अवस्थामा रहेको कृषकको गुनासो छ । आकाशबाट पानी नपर्दा खेतमा घुँगा हाल्ने बेला भएका मकै सुकेका देख्न सकिन्छ ।
कालीगण्डीनदी परेवाघाटमा स्नान गरेर भगवनसंग पानी माग्दै रामपुर ६ का नागरिक तस्बिरमा




