आगामी आर्थिक बर्ष ‘आर्थिक बृद्धिदरको बर्षको रुपमा अगाडी बढ्छ ‘– नगर प्रमुख थापा

बोलीखबर   २०८०-०३-०८

पाल्पा ।  रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले आगामी आर्थिक बर्ष  आर्थिक बृद्धिदरको बर्षको रुपमा लिईने बताएका छन् । थापाले नगरको विकासको लागि आगामी आर्थिक बर्षलाई आर्थिक बृद्धिको बर्षको रुपमा अगाडी बढाउने बताएकाे हाे ।

रामपुर नगरपालिका वडा नं.७ को नाम्ले खोलामा निर्माण सम्पन्न कल्भर्ट योजनाको बिहिवार उद्घाटन गर्दै नगर प्रमुख थापाले विकासका लागि बजेटको आवश्यकता पर्ने भन्दै यो आर्थिक बर्ष नगरको आन्तरिक आय बृद्धिमा केन्द्रित हुने बताए । “नगरको विकासका लागि बजेटको आवश्कता पर्छ , अहिले बजेटको अभाव छ त्यसैले बजेटका लागि नगरको आन्तरिक आम्दानी बढाउनु पर्नेछ” – नगर प्रमुख थापाले भने । थापाले जनताको माग अनुसार बजेट विनियोजन गर्नका लागि स्थानीय तहको आन्तरिक स्रोत मजबुत हुन आवश्यक रहेको उल्लेख गरेका थिए । यसका लागि नगरपालिकाले राजश्व बृद्धिका कार्यक्रम सञ्चालन गरिने बताएका छन् । राजश्व बृद्धिका लागि करको दर भन्दा पनि करको दायरा बढाउने रणनिति तय गरेको बताएका थिए ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं.७ का वडा अध्यक्ष दोवराज तिवारीले थोरै बजेटमा पनि समयमै योजना सम्पन्न गरेकोमा धन्यवाद दिंदै यसको संरक्षण गर्नु पर्नेमा जोड दिएका थिए ।

निर्माण समितिका अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समितिका सदस्य शिक्षा खनालको स्वागत र उमाकान्त भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो । रामपुर नगरपालिकाको ८ लाख र १ लाख ४० हजार बराबरको लागत सहभागिता गरि ९ लाख ४० हजारको लागतमा कल्भर्ट निर्माण गरिएको हो ।