रामपुर नगरपालिकाको नीति तथा कार्यक्रमः होमस्टे सञ्चालन देखि जिपलाईन सम्भाव्यता

बोलीखबर   २०८०-०३-११

पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले कृषि, पर्यटन संगै पूर्वाधार विकासलाई प्राथमितामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरेको छ ।

१३ औं अधिवेशन मार्फत आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरेको हो ।
नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले पर्यटन प्रवद्र्धनका लागि होमस्टे सञ्चालन, पूर्वाधार विकास र पहुँच विस्तार गर्ने, पर्यटन गन्तव्यहरुलाई एकितृत गरी पर्यटन प्याकेज निर्माण गरी पर्यटक आकर्षित गर्ने, कालीगण्डकी किनार संगै रामपुर ४ को बौद्धविहार देखि रेवती पोखरा सम्म पदमार्ग निर्माण गर्ने, राम कथासंग सम्बन्धित क्षेत्रलाई जोडि रामायण सर्किटको रुपमा विकास गर्ने, जिपलाईनको सम्भाव्यता अध्ययन गर्ने, रामपुरको पहिचानका लागि उपयुक्त स्थानमा रामरसीताको मूर्ति निर्माण गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

रामपुर नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ६९ करोड ७२ लाख ५० हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । नगर सभामा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गरेकी हुन् ।

आय तर्फ संघीय समानिकरण अनुदान ११ करोड ७७ लाख, संघीय राजस्व बाँढफाँड बाट १० करोड ४२ लाख २२ हजार, संघीय समपुरक पूँजीगत ६० लाख, संघीय विशेष अनुदान ८० लाख, संघीय ससर्त (चालु) ३२ करोड ८४ लाख, संघीय ससर्त पूंजीगत) १ करोड ७६ लाख, प्रदेश समानिकरण अनुदान ८५ लाख ९६ हजार, प्रदेश राजश्व बाँडफाँड ८७ लाख १६ हजार ३ सय ४८, प्रदेश समपुरक १ करोड ५० लाख, प्रदेश ससर्त १ करोड १६ लाख ५० हजार र आन्तरिक स्रोत तर्फ ५ करोड ५० लाख, अल्या १ करोड ६३ लाख ६५ हजार ६ सय ५२ गरी ६९ करोड ७२ लाख ५० अनुमान गरिएको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्षको लागि प्रत्येक वडालाई ४२ लाख विनियोजन गरेको छ । त्यस्तै आर्थिक विकास तर्फ १ करोड ९५ लाख ५० हजार, सामाजिक विकास तर्फ ३४ करोड २३ लाख, पूर्वाधार विकास तर्फ ९ करोड ७८ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि २ करोड ९३ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ १६ करोड विनियोजन गरेकोछ । उपप्रमुख थापाले नगर सभामा प्रस्तुत विनियोजन विधयेक, आर्थिक विधेयक पारित भएको छ ।

नगर सभाको अवसरमा रामपुर नगरपालिकाले नगर भित्रका पूर्व जनप्रतिनिधि, पत्रकार, खेलाडी तथा उत्कृष्ट विद्यालयहरुलाई सम्मान सहित पुरस्कृत गरेको थियो ।