पाल्पा । निस्दी गाउँपालिकाले कृषि, खानेपानी, शिक्षा, पर्यटन संगै पूर्वाधार विकासलाई प्राथमितामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरेको छ ।
शुक्रबार सम्पन्न १३ औं अधिवेशन मार्फत आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरेको हो ।

गाउँ सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले शिक्षा तथा खानेपानीलाई मुख्य एजेण्डा बनाएको छ । अध्यक्ष सारुले निस्दी गाउँपालिकामा अधिकांश मगर समुदाय भएकाले शिक्षा क्षेत्रमा मगर भाषाको पाठ्यक्रम समावेश गरेकोछ । त्यस्तै सारुले उचित शिक्षाको अभावमा बसाईसराई बढिरहने बताउँदै शिक्षा क्षेत्रलाई यसपटक उच्च प्राथमिकतामा राखिएको बताएका छन् ।

नीति तथा कार्यक्रममा युवा उद्यमशिलता, युवा स्वरोजगार, विपद तथा प्रकोप नियन्त्रण एवं व्यवस्थापन गरिने, मगर भाषा पाठ्यक्रम , साहित्य, कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उल्लेख रहेको छ । नीति तथा कार्यक्रममा गरिवी निवारण, पूर्ण सरसफाइ तथा लैंगिक तथा समावेशी, महिला बालबालिका तथा पिछडिएको क्षेत्रका समुदायलाई प्रत्यक्ष लाभ पुर्याउने खालको कार्यक्रम उल्लेख रहेको छ ।
सभामा गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले संघ समानीकरण तर्फको ४९ करोड ५० लाख ६७ हजार ७ सय, प्रदेश समानीकरणको ३ करोड ६ लाख २६ हजार ७ सय ५१ र पालिकाको आन्तरिक आम्दानी एवं अल्यातर्फको ११ करोड ५१ लाख गरि कुल ६४ करोड ७ लाख ९४ हजार ४ सय ५१ रुपैयाँ बराबरको नीति तथा कार्यक्रम एवं बजेट सार्वजनिक गरेको हो ।
आर्थिक वर्ष २०८० /०८१ का लागि संस्थागत सेवा प्रवाह, सुशासन र प्रशासनिक तर्फ ८ करोड ७३ लाख बजेट विनियोजन गरेकोछ ।

पालिका स्तरीय योजनाको लागि १ करोड ४३ लाख, बालमैत्री स्थानीय शासनतर्फ ३२ लाख, सामाजिक तथा शिक्षा क्षेत्रमा ३ करोड ५० लाख, खानेपानी तथा सरसफाइमा १५ लाख बजेट विनियोजन गरेकोछ । निस्दीले आगामी वर्षको लागि कृषि, कृषि तथा पशु उद्यमशिलतातर्फ १ करोड ५० लाख, स्वास्थ्यतर्फ १ करोड ५० लाख, लैंगिक समानता तथा सामाजिक समावेशिकरण क्षेत्रमा १ करोड १७ लाख, मगर भाषा पाठ्यक्रमका लागि ५ लाख बजेट विनियोजन गरेको छ ।
गाउँसभाको विशेष अवसरमा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती बसन्तले सम्बोधन गर्दैै जनताले सबैभन्दा धेरै विकासको अनुभव स्थानीय सरकारबाट प्राप्त गरिने बताए । घर्तिले संघ र प्रदेश सरकारभन्दा स्थानीय सरकार आफैमा बलियो रहेकोले जनप्रतिनिधिहरु जनताको मन जित्नेगरी लाग्नुपर्ने बताए । सभामा प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले यश क्षेत्रको विकास र प्रगतिको लागि आफ्नो महत्त्वपूर्ण भुमिका रहने बताए ।
गाउँ सभाले नीति तथा कार्यक्रमसंगै आर्थिक तथा विनियोजन विधेयक समेत पास गरेको प्रवक्ता मेख बहादुर सुनारीले बताए ।
पुरा पढ्नुहाेस् बजेट वक्तव्य
बजेट-वक्तव्य


