निस्दीमा १२ पास गरी २० बर्ष पुगेर विवाह गर्ने महिलाहरूलाई सम्मान

बोलीखबर   २०८०-०३-११

पाल्पा । निस्दी गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पुगेर विवाह गर्ने महिलाहरुको लागि प्रोत्साहन पुरस्कार प्रदान गरेकोछ । बालमैत्री गाउँपालिका घोषणाका लागि अभियान संञ्चालन गर्दै आएको पालिकाले बालविवाह न्यूनिकरणका लागि प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरेको हो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७९ साउन १ देखि बैशाख ३१ गते सम्म निस्दी गाउँपालिका भित्र स्थायी बसोबास गरिरहेका कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पुगेर विवाह गर्ने महिलाहरुलाई प्रोत्साहन पुरस्कार दिइएको हो ।
सम्मान कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले महिलाहरुलाई शिक्षा तर्फ उत्प्रेरित गर्नुका साथै बालविवाह विवाह न्यूनिकरण गर्न प्रोत्साहन हुने बताएका थिए । निस्दी गाउँपालिकामा बालविवाह गर्नेको संख्या बढिरहेकाले यसलाई यो सम्मान कार्यक्रमले थप प्रोत्साहन गर्ने बताएका छन् ।

गाउँपालिका उपाध्यक्ष तीरन कुमारी श्रेष्ठले बालविवाह न्यूनिकरण तथा महिलाहरुलाई शिक्षा तर्फ उत्प्रेरित गर्नका लागि प्रोत्साहन पुरस्कार प्रदान गरेको जनाएको छ । महिला लक्ष्यित कार्यक्रमका लागि विनियोजित बजेट मार्फत बालविवाह न्यूनिकरण गर्न तथा शिक्षामा प्रोत्साहन गर्न कार्यक्रम गरेको बताइएको छ । प्रोत्साहन पुरस्कार नगद सहित निस्दी गाउँपालिका ७ वटै वडाका २५ जना महिलाहरुलाई जनाही रु ८ हजार नगद सहित सम्मान पत्रले सम्मान गरेको गाउँपालिका योजना प्रमुख तथा सूचना अधिकारी अर्जुन खनालेले जनाएको छ ।

कार्यक्रममा सहभागीताका लागि गत जेठ ११ देखि १७ गते सम्म आवश्यक कागज पत्रहरु सहित निवेदन आह्वान गरेको थियो । प्रोत्साहन पुरस्कारका लागि नेपाली नागरिकताको प्रमाण पत्र, कक्षा १२ उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र, विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि र बैंक खाता नं. निस्दी गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा र सम्बन्धित वडा मार्फत निवेदन पेश गर्न अनुरोध गरेको थियो ।

यस अघि निस्दी गाउँपालिकाले गाउँपालिका भित्रका स्नातकोत्तर उत्तीर्ण महिलाहरलाई नगद सहित सम्मान गरेको थियो ।