पाल्पा । बाढीबारे पूर्व सूचना दिने गरी तिनाउ नदीमा बाढी मापन यन्त्र जडान गरिएको छ । ३ वर्षअघि बगाएको तिनाउ नदीको दोभानमा रहेको बाढी मापन यन्त्र अहिले जडान भएको हो ।
जल तथा मौसम विभागका अधिकारीहरूका अनुसार १ हप्ताअघि बाढी मापन यन्त्र जडान गरिएपछि गत शनिवार र मंगलवार बिहान तिनाउ नदीमा आएको बाढी र जोखिमबारे विभागले सहजै सूचना प्रवाह गरी सचेत रहन आग्रह गरेको छ ।
जल तथा मौसम कार्यालय भैरहवाका हाइड्रोलोजिस्ट इन्जिनीयर राजेशकुमार महतोले स्वचालित बाढी मापन यन्त्र जडान भएकाले सहजै सूचना पाउन र दिन सम्भव भएको जानकारी दिए ।
‘बाढी मापन यन्त्र जडान नभएको भए सूचना प्रवाहमा समस्या आउँथ्यो,’ उनले भने ।
जल तथा मौसम विज्ञान विभागले बाढी बुलेटिन निकालेर तिनाउ नदी आसपासका वासिन्दालाई सतर्क रहन सूचना जारी गरेको थियो । बाढीजन्य प्रकोपको उच्च जोखिम रहेको तिनाउमा वर्षा तथा बाढी मापन यन्त्र नहुँदा २ वर्ष समस्या थियो । तिनाउको बाढी र आसपासको वर्षाको अवस्थाबारे जानकारी नपाउँदा सतर्कता अपनाउन समस्या थियो ।
जल तथा मौसम विज्ञान विभागले तिनाउका २ ठाउँमा ५ वर्षअघि वर्षा तथा बाढी मापन यन्त्र राखेको थियो । तीमध्ये दोभान र झुम्सा खोलाभन्दा ५० मिटर तल राखेको वर्षा तथा बाढी मापन यन्त्र ३ वर्षअघिको बाढीले बगाएको थियो । केराबारीमा राखेको मापन यन्त्र अघिल्लो वर्ष चोरी भयो ।
दोभान खोला र झुम्सा खोलाभन्दा तल राखिएको मापन यन्त्र २०७७ साउन १४ गते आएको बाढीले बगाएको थियो । साउन १४ गते राति ११ बजे तिनाउमा ४ दशकयताकै ठूलो बाढी आएको थियो । यो बाढी ८ दशमलव ५० मिटर रहेको जल तथा मौसम कार्यालय भैरहवाका हाइड्रोलोजिस्ट महतोले बताए ।
नेपाल रेडक्रस सोसाइटी तिनाउ उपशाखाका सचिव समेत रहेका दोभानका सन्तोष शेरचनका अनुसार २०३८ सालमा तिनाउमा आएको बाढीलाई ठूलो बाढी मानिन्छ । यो बाढीले बुटवल र दोभान क्षेत्रमा ठूलो जनधनको क्षति गरेको थियो । ४ वर्षअघि बाढीले बुटवल देवीनगर–बुद्धनगर जोड्ने झोलुङ्गे पुल बगायो । यो पूल बगाउँदा पनि पहिरोले तिनाउ थुन्दा आएको बाढी नै कारण रहेको थियो ।


