पाल्पा । माथागढी गाउँपालिकाले बजार क्षेत्रहरुमा सिसिटिभी जडान गरेको छ । समाजमा हुने अपराधिक क्रियाकलापका प्रकृति फरक फरक भएसंगै शान्ती सुरक्षालाई मध्यनजर गर्दै सिसिटिभी जडान गरेको हो ।
गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले समाजमा हुने विभिन्न किसिमका अपराध, घटनालाई रोकथाम र न्यूनीकरण तथा शान्ति सुव्यबस्था एवं अमनचयन कायम गर्ने तथा प्रबिधिमैत्री माथागढी बनाउने अभियानलाई सघाउ पुग्ने बताए ।
प्रबिधिको बिकाससंगै बढ्दै गएका बिभिन्न खालका अपराधिक तथा अन्य नवीनतम चुनौतीहरुलाई प्रबिधिको प्रयोग गरि निराकरण गर्ने कार्यलाई प्राथमिकता दिन बजार क्षेत्रमा सिसिटिभी जडान गरेको माथागढी नं. ३ का वडा अध्यक्ष तेजबहादुर घर्तिमगरले बोलीखबरलाई बताए ।
माथागढी वडा नं. ३ को कसेनी सराई बजार, खहरे बजार, देवगीर बजार, झडेवा, जगात लगायतका बजार क्षेत्रहरुमा १२ वटा सिसीटिभी जडान गरेको छ । कुल ६ लाख रुपैयाको लागतका उक्त सिसीटिभी जडान गरेको हो ।



